काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै उनलाई गृह मन्त्रालय बोलाइएको छ। मन्त्रालय स्रोतका अनुसार उनलाई प्रदान गरिने नियुक्तिपत्रसमेत तयार भइसकेको छ।
मन्त्रालयले आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पदबहाली गर्न आग्रह गरिरहेको स्रोतले जनाएको छ। तर धार्मिक विधि पूरा गर्नुपर्ने भएकाले बिहीबार मात्रै पदबहाली गर्ने इच्छा डा. केसीले व्यक्त गरेका छन्।

नवनियुक्त आईजीपीको आजै पदबहाली हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयका अधिकारीहरू पनि तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ। मन्त्रालयले नियुक्तिपत्र बुझेर आजै दर्ज्यानी चिह्न ग्रहण गर्न आग्रह गरिरहेको छ। यद्यपि नियुक्तिपत्र बुझिसकेपछि दर्ज्यानी चिह्न अर्को दिन लगाए पनि उनले महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्न र काम गर्न पाउनेछन्।
