मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङ जिल्लाबाट भारत हुँदै अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाई राखिएका सयपत्री फूलका तयारी माला बरामद गरेको छ। बुधवार प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले मोरङको कानेपोखरी गाउँपालिका–४, टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरमा छापा मारेको थियो।
सो क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाई राखिएका १०४ पोका सयपत्री फूलका तयारी माला फेला पारी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका मालाको अनुमानित मूल्य १५ लाख ६० हजार रुपैयाँ रहेको छ।

