काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७ अर्ब १५ करोड रुपैयाँ लागतका ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्। मन्त्री लम्सालका अनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा सञ्चालन हुने साना तथा ठूला गरी ९२ वटा आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइएको हो।
यी आयोजना आगामी ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध हुने अपेक्षा गरिएको मन्त्री लम्सालले जानकारी दिए।

‘पछिल्लो तीन महिनामा मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ९२ वटा साना–ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरेका छौँ,’ उनले भने। उनका अनुसार गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका नयाँ ठेक्का प्रक्रिया अघि बढ्न सकेका थिएनन्। चालु आर्थिक वर्षमा भने खानेपानी सेवालाई प्राथमिकतामा राख्दै आयोजनाहरूको खरिद प्रक्रिया अगाडि बढाइएको हो।

मन्त्री लम्सालले चालु आर्थिक वर्षमा थप खानेपानी आयोजनाको खरिद प्रक्रिया अघि बढाउने तयारी भइरहेको पनि बताए। ‘खानेपानी सेवा प्राथमिकता प्राप्त क्षेत्र भएकाले यस वर्ष ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजना खरिद प्रक्रियामा लैजाने तयारी गरेका छौँ,’ उनले भने।
सरकारले विसं २०८७ सालसम्म सबै नागरिकका घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सोही लक्ष्यअनुरूप आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।