काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका टंकराज न्यौपानेले जग्गा गैरकानुनी रूपमा हडपेको र आफूलाई धम्की दिएको आरोप लगाएका छन् ।
संसदीय सुनुवाइ समितिमा आफ्नो भनाइ राख्दै न्यौपानेले जग्गा हडपेको आरोप लागेका व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने बताएका हुन् ।

“मेरो जग्गा खानेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन मिल्दैन,” उनले समितिमा भने । न्यौपानेका अनुसार साधारण निवेदनका आधारमा आफ्ना आफन्तहरूको नामसमेत समावेश गरी जग्गा अधिग्रहण गरिएको थियो । तर, अधिग्रहण गरिएको भनिएको उक्त जग्गा न नगर विकास समितिलाई हस्तान्तरण गरियो, न त आफूहरूलाई नै फिर्ता गरियो । बरु जग्गा बिक्री गरेर हिनामिना गरिएको उनको आरोप छ ।

उक्त जग्गा विवादमा आफूले अदालतबाट समेत न्याय नपाएको न्यौपानेले गुनासो गरे । उनका अनुसार कपिलवस्तु जिल्ला अदालतले सुरुमा वादी र प्रतिवादीको कुरा नसुनी दाबी नपुग्ने फैसला गरेको थियो । त्यसपछि उच्च अदालत तुलसीपुरले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उनले जानकारी दिए ।
यसैगरी, न्यौपानेले प्रस्तावित न्यायाधीश डाँगीका परिवारका सदस्यबाट आफूलाई धम्की आएको आरोपसमेत लगाए । विवाद मिलाउनका लागि छलफल गर्न जाँदा डाँगीका दाजु दिनेश डाँगीले आफूलाई धम्क्याएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार दिनेशले, “मेरो भाइ सर्वोच्च अदालतमा गइसकेको छ, अब तँलाई जेल हाल्छु,” भन्दै धम्की दिएका थिए । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डाँगीविरुद्ध परेका उजुरीमाथि सुनुवाइ गर्ने क्रममा उजुरीकर्ता न्यौपानेलाई बोलाएर उनको भनाइ सुनेको हो ।