काठमाडौं । मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि सरकारले प्रभावित क्षेत्रको अवस्था आकलन र उद्धार तथा राहत कार्य समन्वय गर्न आपत्कालीन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार स्थानीय समयअनुसार बिहान १ः०४ बजे गएको भूकम्पको केन्द्रविन्दु शिजुओका प्रान्तको पश्चिमी क्षेत्रमा जमिनबाट करिब ४० किलोमिटर गहिराइमा थियो ।

भूकम्पको तीव्रता आइची प्रान्तको चितामा जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार ‘अपर ५’ र आइची, नागानो तथा गिफु प्रान्तका केही क्षेत्रमा ‘लोअर ५’ मापन गरिएको थियो ।
यसले मध्य जापानका विभिन्न क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको देखाउने बताइएको छ । मुख्य भूकम्पपछि केही परकम्पसमेत गएको बताइएको छ ।
जेएमएका अनुसार, भूकम्पबाट सुनामीको खतरा भने नरहेको बताइएको छ ।