सुनसरी । सुनसरी–मोरङको सीमा इटहरीस्थित बुढीगंगा–जमुना मुक्तिधाममा छठ पर्व मनाउने तयारी तीव्र पारिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाका बासिन्दाले मनाउने छठ पर्वले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीकका रूपमा पहिचान बनाउँदै गएको छठ पर्व सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

समितिका अनुसार इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई संस्थागत गर्न मुक्तिधाममा मन्दिर निर्माणसमेत गरिएको छ । छठ पर्वका अवसरमा देशका विभिन्न जिल्ला तथा पालिकाबाट समेत श्रद्धालु भक्तजनहरुले घाट बुकिङ् गरिरहेको आयोजक समितिका अध्यक्ष बासुदेव कर्णले बताए । उनका अनुसार ६५० भन्दा बढी पूजा घाट निर्माण गरिएको छ । पूजा घाट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
पाँच दिनसम्म मनाइने पर्वको पहिलो दिन कात्तिक २६ गते बिहीबार व्रतालुहरूले लसुन, प्याज, कोदो र मुसुरोको दाल नखाई शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।
दोस्रो दिन कात्तिक २७ गते नजिकैको नदी, पोखरी, नहर, खोला वा जलाशयमा नुहाएपछि प्रसादका रूपमा तयार पारिएको मौसमी तरकारी र अरवा चामलको भात खाने चलन छ। यस दिनलाई ‘नहाय खाय’ भनिन्छ।
तेस्रो दिन व्रतालुहरूले घरको पूजा कोठालाई गोबर र माटोले लिपपोत गरी शुद्ध बनाएर भगवान्को पूजा आराधना गर्छन्। यस दिनलाई ‘खरना’ भनिन्छ। खरनाको विशेषता भनेको पूजा नसकिएसम्म परिवारका सदस्य, आफन्त र टोलवासी बाहिरै प्रतीक्षा गरेर बस्नु हो। पूजा सम्पन्न भएपछि सर्वप्रथम व्रतालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि मात्र उपस्थित सबैलाई प्रसाद वितरण गरिन्छ। यही समयदेखि व्रतालुको निराहार व्रत विधिवत् रूपमा सुरु हुन्छ।
चौथो र पाँचौँ दिन छठको मुख्य पूजाका लागि विशेष तयारी गरिन्छ। चौथो दिन जलाशयमा सामूहिक रूपमा भेला भएर अस्ताउँदो सूर्यलाई जल र दूधको अर्घ दिइन्छ। पाँचौँ दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ महापर्व सम्पन्न हुन्छ।