Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

नवलपुर । पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ ।

नारायणघाट–बुटवलखण्डको चोरमारा जंगल क्षेत्रमा पर्ने पूर्व–पश्चिम दुवैको बीच ५१४/५१४ किलोमिटरको दूरीमा निर्माण गरिएको स्तम्भले राजमार्गको भौगोलिक महत्त्वसँगै जिल्लाको नयाँ पर्यटकीय पहिचान थप्ने अपेक्षा गरिएको छ ।

नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले राजमार्गको पूर्वी विन्दु मेची पुल र पश्चिमी विन्दु कञ्चनपुरको गड्डाचौकीबाट समान दूरीमा पर्ने स्थानमा उक्त स्तम्भ निर्माण गरिएको बताए । करिब एक हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गको मध्यविन्दुमा पर्ने यस स्थानबाट दुवैतर्फको दूरी बराबर छ । निर्मित स्तम्भमा समेत दुवैतर्फको समान दूरी उल्लेख गरिएको छ ।

यसअघि पनि उक्त स्थानमा पूर्व र पश्चिमको दूरी देखाउने सामान्य स्तम्भ थियो । तर, सडक विस्तारका क्रममा त्यो भत्काइएको थियो । सूचना अधिकारी खनालले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोको मापदण्डभित्र परेको पुरानो स्तम्भ भत्काएर नयाँ संरचना निर्माण गरिएको बताए ।

मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले राजमार्गको मध्यभागलाई व्यवस्थित रूपमा चिनाउने र यात्रुका निम्ति आकर्षण थप्ने उद्देश्यले नयाँ स्तम्भसहितको संरचना तयार पारिएको बताए । नयाँ स्तम्भ निर्माणका निम्ति नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्ड र मध्यविन्दु नगरपालिकाको लागत साझेदारी गरेका अधिकारीको भनाइ छ ।

कुल लागतको ८० प्रतिशत खर्च सडक योजनाले व्यहोरेको छ । २० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने गरी स्तम्भ निर्माण गरिएको अधिकारीले बताए ।

नवलपुरको बीटी कन्स्ट्रक्सनले ३४ लाख ९१ हजार ८७१ रुपैयाँमा सम्झौता गरी स्तम्भ निर्माण गरिएको हो । “मध्यविन्दु स्तम्भलाई जिल्लाकै पहिचान र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ,” नगरप्रमुख अधिकारीले भने, “राजमार्गको बीचभागमा पर्ने भएकाले यहाँ पुग्ने यात्रु तथा पर्यटकका लागि स्तम्भ अवलोकन, तस्बिर खिच्ने र केही समय विश्राम गर्ने आकर्षक स्थल बनाउने गरी अन्य योजना अगाडि बढाउँदै छौँ ।”

राजमार्गको मध्यभागमा रहेको यही भौगोलिक अवस्थाका आधारमा यस क्षेत्रको नाम मध्यविन्दु रहेको नगरप्रमुख अधिकारीले उल्लेख गरे । सोही नामबाट नगरपालिका स्थापना गरिएको उनले बताए ।

हाल जिल्लाका मध्यविन्दु तथा कावासोतीमा निर्मित अस्पताललगायत विभिन्न संघसंस्था र संस्थागत संरचनाको नामकरण समेत मध्यविन्दुका आधारमा गरिएको छ । नयाँ स्तम्भ निर्माणसँगै मध्यविन्दु नगरपालिकाले यस क्षेत्रको सरसफाइ, संरक्षण र पर्यटकीय पूर्वाधार विकासका योजना अगाडि बढाउने तयारी गरेको अधिकारीले बताए ।

उक्त स्तम्भमा पछाडिपट्टि नेपालको नक्सा र अगाडिपट्टि मध्यविन्दु दर्साउने सुन्दर कलाकृति राखिएको छ । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं