विराटनगर । तिहारको मौका पारेर देशका विभिन्न १० जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ। १५ फरक-फरक स्थानबाट उनीहरूको साथबाट कुल १३ लाख ४९ हजार ९४१ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।
उपत्यकाअन्तर्गत भक्तपुरका दुई स्थानबाट २४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-७ बागेश्वरी पकरीटोलबाट ३३ वर्षीय दिपेश लामिछानेसहित १५ जनालाई ९७ हजार रूपैयाँ र ४ बुक ताससहित जिल्ला प्रहरी परिसर भक्तपुरले मंगलबार बिहान पक्राउ गर्यो।

यस्तै मध्यपुर थिमि-३ एसएस चोक नजिकबाट २६ वर्षीय सुजन तामाङसहित ९ जना ९९ हजार १५० रूपैयाँसहित प्रहरी वृत्त ठिमीबाट पक्राउ परे।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ टनागाउँबाट ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई ५६ हजार ५४० रूपैयाँ र ६ बुक ताससहित प्रहरी प्रभाग बुढानिलकण्ठले नियन्त्रणमा लियो।
झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन्। कमल गाउँपालिका-५ टुक्रेस्थित ४५ वर्षीया गिता भट्टराईको घरबाट गितासहित १२ जना १ लाख १८ हजार २०० रूपैयाँ र ५ बुक ताससहित तथा दमक-१० बाट ५४ वर्षीय काजिम थापासहित १० जना ८९ हजार ७१० रूपैयाँ र १५ थान कौडासहित इलाका प्रहरी कार्यालय दमकको टोलीबाट पक्राउ परे।
चितवनका तीन स्थानबाट १५ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-७ स्थित ३८ वर्षीय डिलाराम चालिसेको घरबाट डिलारामसहित ७ जनालाई ३ लाख ३७ हजार ४८० रूपैयाँ र १ बुक ताससहित जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गर्यो।
यस्तै, रत्ननगर-१६ हात्तीगाडेबाट ३४ वर्षीय माधव थापा मगरसहित ६ जना ५२ हजार ६१५ रूपैयाँ र १६ थान कौडासहित तथा भरतपुर-१२ सहयोगी टोलबाट ३६ वर्षीय गोविन्द मगरसहित २ जना ३६ हजार ११० रूपैयाँ र १६ थान कौडासहित समातिए।
सर्लाहीको लालबन्दी-४ हरिभवन टोलस्थित ४० वर्षीय भुवन कुमार श्रेष्ठको घरबाट भुवनसहित ९ जनालाई ६२ हजार रूपैयाँ, ६ बुक तास र १६ थान कौडासहित इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गर्यो। बरहथवा-९ मुर्तियाबाट लालकृष्ण गुरुङसहित २ जना ३६ हजार ५५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ परे।
यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२ शिव चोकबाट ५२ वर्षीय संजय पंजियारसहित ५ जनालाई ६७ हजार ५०० रूपैयाँ र १ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ।
कञ्चनपुरको भीमदत्त-१८ पुष्पलाल चोकस्थित ५३ वर्षीय रबिन्द्र केसीको घरबाट रबिन्द्रसहित ६ जना १ लाख ४७ हजार २५६ रूपैयाँ र ३ थान कौडासहित पक्राउ परे।
कास्कीको पोखरा-१८ अधेरीकुनास्थित ४८ वर्षीय केशर रानाको कोठाबाट केशरहित ६ जना ६३ हजार ५२५ रूपैयाँ र ४ बुक ताससहित नियन्त्रणमा परे।
यसैगरी, धनकुटाको पाख्रीबास-९ स्थित ५५ वर्षीय बिष्णु घिसिङको घरबाट बिष्णुसहित ७ जना १ लाख ७ हजार ३१५ रूपैयाँ र ३० थान कौडासहित तथा कपिलवस्तुको वाणगंगा-७ चौरीगाउँस्थित ४१ वर्षीय बिष्णु थारूको घरबाट बिष्णुसहित ४ जना ७८ हजार ४८५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ परेका छन्। पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।