काठमाडौं । मृत्युदण्ड कार्यान्वयनमा स्थगन गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघीय महासभामा पेस गरिएको प्रस्ताव पारित भएको छ । मेक्सिकोले प्रस्तुत गरेको प्रस्ताव शुक्रबार पारित भएको समाचार संस्था पीटीआईले जनाएको छ ।
१९३ सदस्यीय महासभामा प्रस्तावका पक्षमा १३३ र विपक्षमा भारतसहित ३३ देशले मतदान गरेका थिए । १६ देश मतदानमा अनुपस्थित रहे ।

भारतसँगै बहराइन, चीन, इजिप्ट, इरान, इराक, जापान, कुवेत, माल्दिभ्स, ओमान, पाकिस्तान, कतार, साउदी अरब र अमेरिका प्रस्तावको विपक्षमा उभिएका थिए ।

प्रस्तावमा मृत्युदण्डको निरन्तर प्रयोगप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसलाई उन्मूलन गर्ने उद्देश्यसहित कार्यान्वयनमा स्थगन लगाउन सबै देशलाई आह्वान गरिएको छ । मृत्युदण्ड उन्मूलन गरिसकेका देशलाई पुनः लागु नगर्न पनि आग्रह गरिएको छ ।
विश्वव्यापी रूपमा मृत्युदण्डको प्रयोग सीमित हुँदै गए पनि सन् २०२५ मा यसको कार्यान्वयनका रिपोर्ट गरिएका घटनामा उल्लेखनीय वृद्धि भएकामा चिन्ता जनाइएको छ ।
मृत्युदण्डको प्रयोग क्रमशः सीमित गर्न र अपराध गर्दाका बेला १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई यस्तो सजाय नदिन आग्रह गरिएको छ । उमेर यकिन गर्न नसकिने अवस्थामा पनि यो प्रतिबन्ध लागु हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
गर्भवती महिला, मानसिक वा बौद्धिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई मृत्युदण्ड नदिन, अनिवार्य मृत्युदण्डको व्यवस्था अन्त्य गर्न र मृत्युदण्ड दिन सकिने अपराधको दायरा घटाउन पनि देशहरूलाई आह्वान गरिएको छ ।