काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ५०० ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय भारतीय नागरिक सलमानलाई कात्तिक २८ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा उनलाई जाँच गरिएको थियो। सोही क्रममा उनले बोकेको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सलमानको साथबाट गाँजासहित एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरिएको छ। घटनाबारे लागूऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।
