काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४ अर्ब रुपैयाँको विद्युत् बिक्री गरेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा ३ अर्ब ९४ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको थियो। यसअनुसार कम्पनीको बिक्री आम्दानी करिब २.३४ प्रतिशतले बढेको छ।

यद्यपि, कम्पनीको आम्दानी बढे पनि खुद नाफा भने घटेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ६७ करोड रुपैयाँ थियो। यसअनुसार नाफा करिब २ करोड रुपैयाँले घटेको हो।

कम्पनीको वित्तीय खर्च बढ्दा नाफामा दबाब परेको देखिन्छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ रहेको वित्तीय खर्च चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
कम्पनीले आफ्नो वित्तीय विवरणमा आयोजना पूर्ण क्षमतामा सञ्चालनमा रहेको जनाएको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ।
हाल दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ। हालसम्म कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको छैन।