विराटनगर । नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले कोशी प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रायमाझीले नेपाली कांग्रेस कोशी प्रदेश समितिको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफ्नो नाममा पार्टीभित्र सर्वसम्मति जुटाउने प्रयास भइरहेको जानकारी दिए । राष्ट्रिय सभामा संसदीय दलको नेताको जिम्मेवारी सम्हालिसकेका कारण आफ्नो नेतृत्वमा पार्टीका सबै पक्षलाई समेट्न सक्ने उनको दाबी छ ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिको अधिवेशन मंसिरको तेस्रो साता विराटनगरमा हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी सभापति गगन थापाले गर्ने कार्यक्रम तय भएको छ ।
