शेन्जेन, चीन । चीनको शेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।
तीनै नेताले आ–आफ्नो देशको राष्ट्रिय झन्डाअगाडि उभिएर सामूहिक तस्बिर खिचाउँदै बैठकको औपचारिक सुरुआत गरेका हुन्। तस्बिर खिचाउने क्रममा चिनियाँ राष्ट्रपति सीको अनुहारमा हल्का मुस्कान देखिएको थियो भने पुटिन र ट्रम्प गम्भीर मुद्रामा देखिएका थिए। बैठकअघि नेताहरूले हात मिलाएको भने देखिएन।

बैठकको सुरुवाती मन्तव्य राख्दै रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्ध आफ्नो प्रमुख चासोको विषय रहेको स्पष्ट पारे। पछिल्लो २४ घण्टामा सी र ट्रम्पसँग भएका छुट्टाछुट्टै छलफलको प्रसङ्ग उल्लेख गर्दै उनले युक्रेन मामिलामा तीनै देशका साझा चासो रहेको बताए।

त्यस्तै, आयोजक राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले यो अभूतपूर्व बैठकको ऐतिहासिक महत्त्व रहेको उल्लेख गरे। विश्व शान्ति र शक्ति राष्ट्रहरूबीचको सम्बन्धबारे धारणा राख्दै उनले भने, ‘ठूला शक्ति राष्ट्रहरू मिलेर बस्दा नै विश्वमा शान्ति कायम हुन्छ।’
कठिन परिस्थितिमा नै वास्तविक जिम्मेवारी देखिने बताउँदै सीले विश्वव्यापी चुनौतीहरूको समाधानका लागि तीनै देश एकजुट हुनुपर्नेमा जोड दिए। अमेरिकी राष्ट्रपति ट्रम्पले भने आणविक हतियारसम्बन्धी विषयमा छलफल गर्न तीनै देश उपयुक्त अवस्थामा रहेको बताए। विगतका नेतृत्वले असमझदारी भएका नेताहरूसँग संवाद गर्नबाट पछि हट्ने गरेको उल्लेख गर्दै उनले भने, ‘अवसरहरू पन्छाएर कहिल्यै पनि शान्ति निर्माण हुन सक्दैन।’
विश्वलाई प्रभाव पार्ने विभिन्न समस्याको समाधान खोज्ने जिम्मेवारी आफूहरूमाथि रहेको ट्रम्पको भनाइ थियो। बैठकअघि नै आफूले पुटिनसँग युक्रेन युद्धका विषयमा छलफल गरिसकेको जानकारी दिँदै उनले विश्वभर चासोका साथ हेरिएका विषयमा बैठकमा कुराकानी हुने बताए। ‘हेरौँ, हामी केही नतिजा निकाल्न सक्छौँ वा सक्दैनौँ,’ ट्रम्पले भने।