काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको उच्च स्रोतले जनाएको छ।
अनुसन्धानसँग सम्बन्धित कागजातमाथि छानबिन सुरु भएपछि अर्याल सम्पर्कविहीन भएको स्रोतको दाबी छ। उनी हाल फरार रहेको बताइएको छ।

यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ छन्।

यसअघि नै प्रहरीले यही प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का रामपुकार तिवारी रहेका छन्।
सीआईबीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका क्रममा संलग्नता देखिएका व्यक्तिहरूलाई पक्राउ गरी ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको द्विपक्षीय समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय गरिएको थियो। यसरी पठाउन निर्णय गरिएको रकम ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ रहेको छ। नेपाली रुपैयाँमा यसको कुल मूल्य १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ हुन्छ।
सम्झौताको व्यवस्था र कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्रभन्दा बाहिर गएर विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा उनीहरूको भूमिका रहेको प्रहरीको आरोप छ।
श्रमिकमाथि संगठित रूपमा ठगी भइरहेको अवस्थामा रोकथाम तथा कानुनी उपचारको पहल नगरेको र गैरकानुनी रूपमा उठाइएको रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।