सुजता लिम्बू

शुक्रबार, मंसिर ०४, २०८३

विराटनगर । कोसी अस्पतालको प्राङ्गणमा दिउँसोको चहलपहल उस्तै थियो। उपचारका लागि आएका बिरामी र आफन्तको भीड, रिपोर्ट लिन लागेको लामो लाइन र डाक्टरलाई देखाउन हतारिएका सेवाग्राही। अस्पतालको व्यस्त वातावरणमा हरेकको आफ्नै हतारो थियो।

यही भिडबिच तेह्रथुमका विकास दाहाल भने अस्पतालको प्राङ्गणमा उभिएर रिपोर्ट आउने प्रतीक्षामा थिए। पहाडबाट बिरामी लिएर आएका उनी रगत, दिसा र पिसाब परीक्षणको रिपोर्ट कहिले आउला र चिकित्सकलाई कहिले देखाउन पाइएला भन्ने अन्योलमा थिए।

रिपोर्ट लिन लामो लाइन छिचोल्नुपर्ने अवस्था देखेपछि उनको ध्यान अस्पतालको प्रवेशद्वार छेउमा राखिएको एउटा सूचनातर्फ गयो। त्यहाँबाट अनलाइन प्रणालीमार्फत पनि परीक्षणको रिपोर्ट लिन सकिने व्यवस्था गरिएको रहेछ।

उनले एक पटक प्रयास गर्ने सोच बनाए। अस्पतालका सुरक्षा गार्ड आइतबहादुर लिम्बूको सहयोगमा क्युआर कोड स्क्यान गरे। नतिजा आयो, परीक्षण गरिएका दुई वटा रिपोर्ट अनलाइनमै उपलब्ध थिए, बाँकी रिपोर्ट आउन बाँकी थियो।

दुई वटा रिपोर्ट हात परेपछि विकासको अनुहारमा खुसी देखियो। लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेर अनलाइन प्रणालीबाटै रिपोर्ट पाउँदा उनी दंग परे।

‘म त सुरुमा अन्योलमा थिएँ। यहाँ लेखेको देखेपछि एक पटक प्रयास गरौँ न भनेर आएको थिएँ। दुई वटाको रिपोर्ट त आइसकेको रहेछ,’ उनले खुसी व्यक्त गर्दै भने।

विकासका लागि यो सामान्य सुविधा थिएन। बिरामी बोकेर टाढाबाट आएका सेवाग्राहीलाई समय, श्रम र झन्झटबाट जोगाउने अस्पतालको डिजिटल प्रयास उनलाई प्रभावकारी लाग्यो।

तर विकासले सहजै प्रयोग गरेको यही डिजिटल सेवा सबै सेवाग्राहीको रोजाइ बन्न सकेको छैन। अस्पतालको प्रवेशद्वार छेउमै अनलाइन रिपोर्ट लिन सकिने सूचना छ। अस्पतालले दिएको पुर्जामा भएको  क्युआर कोड स्क्यान गरेपछि  रिपोर्ट हेर्न र प्राप्त गर्न सकिन्छ। तर, सूचना र सुविधा हुँदाहुँदै पनि धेरै सेवाग्राही भने पुरानै शैलीमा रिपोर्ट लिन लाम बस्न रुचाउँछन्।

अस्पतालका सुरक्षा गार्ड आइतबहादुर लिम्बूका लागि यो आफैँमा एउटा चुनौती बनेको छ। अस्पताल आउने सेवाग्राहीलाई अनलाइन रिपोर्ट लिन सकिने व्यवस्था बुझाउने र त्यसका लागि सहजीकरण गर्ने जिम्मेवारी उनले निर्वाह गर्दै आएका छन्।

तर, स्पष्ट सूचना राख्दा पनि सेवाग्राहीले त्यसलाई बेवास्ता गर्ने गरेको उनको अनुभव छ। लाइनमा बसिरहेका सेवाग्राहीलाई अनलाइन सेवा लिन आग्रह गर्दा समेत उनीहरू त्यसतर्फ आकर्षित नहुने गरेको उनी बताउँछन्।

‘सेवाग्राही आफैँ पनि यहाँबाट सेवा लिन मान्दैनन्। लाइनमा बसेकालाई बोलाउँदा पनि आउनुहुन्न। अब त म आफैँ गएर बोलाउन पनि छोडेको छु,’ लिम्बू भन्छन्।

उनका अनुसार अस्पतालमा दैनिक हजार जनाबढीले रिपोर्ट लिनुपर्ने हो तर, अनलाइन माध्यमबाट रिपोर्ट लिनेको संख्या भने निकै न्यून छ। कुनै दिन २२ जना, कुनै दिन १७ जना त कुनै दिन ४ जनाले मात्रै अनलाइनमार्फत रिपोर्ट लिने गरेको उनको भनाइ छ। औसतमा करिब ६ सय जनाले मात्रै रिपोर्ट लिएको उनको भनाइ छ ।

अस्पतालले सेवाग्राहीको समय बचत गर्ने, भीड कम गर्ने र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले परीक्षण रिपोर्ट वितरणलाई डिजिटल प्रणालीमा जोडेको छ। तर, प्रविधिको उपलब्धताले मात्रै सेवाग्राहीको व्यवहार परिवर्तन हुन नसकेको अस्पताल प्रशासनको बुझाइ छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्र भाल झाले अस्पतालमा डिजिटल प्रणालीको सुरुवात भए पनि सेवाग्राहीको पुरानै बानी परिवर्तन गर्न कठिन भइरहेको बताए।

‘सेवाग्राहीको भीड व्यवस्थापन गर्न डिजिटल प्रणालीमा गएका छौँ। तर, सेवाग्राहीहरू अझै पनि लाइनमै बस्न रुचाउनुहुन्छ। म आएपछि रिपोर्ट वितरणलाई पनि डिजिटल प्रणालीमा लगिएको हो। सुरक्षागार्डले समेत सहजीकरण गरेर बोलाउँदा पनि सेवाग्राही सहज सेवा लिन तयार हुनुहुन्न,’ डा. झाले भने।

अस्पतालको ढोकामै डिजिटल सेवाको विकल्प खुला छ।  तर, सेवाग्राहीको पाइला भने अझै लामतिरै मोडिइरहेको छ। डिजिटल प्रणालीको पहुँचमा पुग्न नसक्नेलाई  जानकारी मूलक भिडियो निर्माणको तयारीमा समेत रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं