काठमाडौं । स्वस्थ रहन लामो समयसम्म व्यायाम गर्नुपर्छ भन्ने मान्यता छ। तर दैनिक १० मिनेट मात्रै दौडिने बानीले पनि शारीरिक तथा मानसिक स्वास्थ्यमा महत्वपूर्ण सकारात्मक परिवर्तन ल्याउन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।
नियमित रूपमा छोटो समय दौडिँदा जोर्नीको स्वास्थ्य सुधारदेखि रक्तचिनी नियन्त्रण, मानसिक स्वास्थ्य र आयु लम्ब्याउने सम्भावनासम्मका फाइदा प्राप्त हुन सक्छन्। सहज गतिमा दौडिए पनि यसको लाभ लिन सकिने अध्ययनहरूको निष्कर्ष छ।

शरीरमा देखिन सक्ने ६ प्रमुख परिवर्तन यस्ता छन् :
१. जोर्नीको समस्या हुने जोखिम कम हुन सक्छ
दौडिँदा घुँडामा असर पर्छ र बुढेसकालमा हाडजोर्नी खिइन्छ भन्ने धारणा पाइन्छ। तर एक लाखभन्दा बढी मानिस समेटिएको अध्ययन समीक्षाले मनोरञ्जनका लागि नियमित दौडिने व्यक्तिमा दौडिँदै नदौडिने व्यक्तिको तुलनामा कम्मर र घुँडाको ओस्टियोआर्थराइटिसको दर कम देखाएको छ।

दौडिँदा जोर्नीमा हुने नियमित गतिविधिले कार्टिलेजमा पोषक तत्त्व र तरल पदार्थको आदानप्रदानमा सहयोग गर्छ। यद्यपि पहिले नै घुँडामा चोट लागेको वा दौडिँदा दुखाइ हुने व्यक्तिले सावधानी अपनाउनुपर्छ।
२. मुड सुधार हुन्छ
दैनिक १० मिनेटको दौडले छोटो समयमै मानसिक अवस्थामा सकारात्मक प्रभाव पार्न सक्छ। जापानको सुकुबा विश्वविद्यालयको अध्ययनमा १० मिनेट मध्यम गतिमा दौडिएका सहभागीको मुडमा सुधार देखिएको थियो।
यस क्रममा मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स क्षेत्रमा सक्रियता बढेको पाइएको थियो। मानसिक थकान, चिडचिडापन र तनाव महसुस भएका बेला छोटो दौड उपयोगी हुन सक्छ।
३. मस्तिष्कको कार्यक्षमता बढ्छ
दौडले मुडमा मात्र नभई मस्तिष्कको कार्यक्षमतामा समेत सुधार ल्याउन सक्छ। अध्ययनअनुसार १० मिनेटको मध्यम वा निकै सुस्त दौडपछि पनि निर्णय क्षमता, ध्यान केन्द्रित गर्ने र अनावश्यक कुराबाट ध्यान हटाउने क्षमतामा सुधार देखिएको छ।
विशेषगरी लामो समय एउटै काममा अल्झिएका वा मानसिक रूपमा थकित भएका व्यक्तिका लागि छोटो दौड उपयोगी हुन सक्छ।
४. डिप्रेसनको जोखिम कम हुन सक्छ
नियमित शारीरिक गतिविधिले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। एक लाख ९० हजारभन्दा बढी वयस्कलाई समेटेर गरिएको अध्ययनमा सिफारिस गरिएको शारीरिक गतिविधिको आधा मात्रै पूरा गर्ने व्यक्तिमा पनि निष्क्रिय व्यक्तिको तुलनामा डिप्रेसनको जोखिम १८ प्रतिशत कम देखिएको थियो।
दैनिक १० मिनेट दौडिने बानीले सातामा ५० मिनेट अतिरिक्त शारीरिक गतिविधि थप्न सक्छ। यसले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य सुधार्न सहयोग पुर्याउन सक्छ।
५. रक्तचिनी नियन्त्रण गर्न सहयोग गर्छ
खाना खाएपछि केही समय शारीरिक गतिविधि गर्दा रगतमा चिनीको मात्रा अत्यधिक बढ्ने क्रमलाई नियन्त्रण गर्न सकिन्छ। व्यवस्थित अध्ययन तथा विश्लेषणले खाना खानुअघि व्यायाम गर्नुभन्दा खाना खाइसकेपछि शारीरिक गतिविधि गर्दा खानापछिको रक्तचिनी नियन्त्रणमा बढी प्रभावकारी हुने देखाएको छ।
विशेषगरी खाना खाएको एक घण्टाभित्र १० मिनेट हल्का दौडिने वा छिटो हिँड्ने बानी उपयोगी हुन सक्छ।
६. अकाल मृत्युको जोखिम कम हुन सक्छ
दैनिक छोटो समय दौडिनुको सबैभन्दा महत्वपूर्ण फाइदामध्ये दीर्घकालीन स्वास्थ्यसँग सम्बन्धित लाभ पनि एक हो।
एक दीर्घकालीन अध्ययनअनुसार दौडिने व्यक्तिमा दौडिँदै नदौडिने व्यक्तिको तुलनामा कुनै पनि कारणबाट मृत्यु हुने जोखिम ३० प्रतिशत र मुटुसम्बन्धी रोगबाट मृत्यु हुने जोखिम ४५ प्रतिशत कम देखिएको थियो।
दैनिक पाँचदेखि १० मिनेट मात्रै दौडिने व्यक्तिमा पनि यस्तो सकारात्मक सम्बन्ध देखिएको अध्ययनमा उल्लेख छ। यसका लागि लामो दूरी वा म्याराथन दौडिनैपर्ने आवश्यकता नहुने अध्ययनको निष्कर्ष छ।
दैनिक १० मिनेट दौड्ने बानी कसरी बसाल्ने ?
दौडलाई नियमित बानी बनाउन केही सामान्य उपाय अपनाउन सकिन्छ।
– बिहान चिया वा कफी पिएपछि १० मिनेट दौडिने।
– कार्यालयको काम सकेपछि दौडिने कपडा लगाएर बाहिर निस्कने।
– दैनिक एउटै समयमा दौडिने तालिका बनाउने।
– दौडिने जुत्ता र कपडा तयारी अवस्थामा राख्ने।
– सुरुमा १० मिनेटलाई न्यूनतम लक्ष्य बनाएर बिस्तारै अभ्यास बढाउने।
– कुन दिन दौडियो भन्ने कुरा क्यालेन्डर वा मोबाइल एपमा टिपोट गर्ने।
दैनिक १० मिनेट पर्याप्त छ ?
स्वास्थ्यका दृष्टिले दैनिक १० मिनेट दौडिनु पनि उपयोगी सुरुवात हो। तर म्याराथन, लामो दूरीको दौड वा उच्चस्तरीय शारीरिक क्षमता विकास गर्ने लक्ष्य राख्ने व्यक्तिका लागि थप अभ्यास आवश्यक हुन्छ।
दौड्ने बानी नभएका व्यक्तिले सुरुमा सातामा तीनदेखि चार दिन हल्का दौडबाट अभ्यास थाल्न सक्छन्। शरीरलाई अभ्यस्त हुन समय दिनुपर्छ। लगातार दुखाइ, सुन्निने समस्या वा हिँड्ने तरिकामै परिवर्तन आउने गरी दुखाइ भए दौड रोक्नुपर्छ।
समग्रमा, स्वस्थ रहन घण्टौँ व्यायाम गर्न नसके पनि दैनिक १० मिनेट समय निकालेर दौडिने बानी बसाल्नु स्वास्थ्यका लागि महत्वपूर्ण कदम हुन सक्छ। नियमितता नै यसको सबैभन्दा ठूलो आधार हो।