Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताए।

यही मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उक्त आयोजनको शिलान्यास गरेका थिए। प्रवक्ता अर्यालले आयोजनाको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वानसमेत भइसकेको बताए।

निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माणको काम अघि बढ्ने उनको भनाइ छ। त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए।

उनले भने, ‘परियोजनाको जम्माजम्मी प्याकेज एकतर्फको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान पनि भइसकेको छ र २०३० को डिसेम्बर ४ बाट यो परियोजनाबाट विद्युत उत्पादन हुने गरी मितिसमेत आजै कायम गरिएको छ।’

उनका अनुसार निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको छ। उनले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि जानकारी दिए।

यस्तै, उनले हेलो सरकारमा पछिल्लो १० दिनको अवधिमा तीन हजार ५१ वटा गुनासा प्राप्त भएकोमा दुई हजार ७ सय ५४ वटा फर्छ्यौट गरिएको र २ सय ३४ वटा गुनासा सम्बोधन गरिएकोसमेत जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं