Lite Nepal

मंगलबार, जेठ ०७, २०८२

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालको झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको बताउँछिन् ।

उनका अनुसार विसं. २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्म चट्याङका एक हजार ११८ घटना भएका छन् । यसबाट एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने उनले बताइन् ।

“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्,” प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् ।

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका कारण दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेको, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएको उनले बताइन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित हुँदा एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन् ।

उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।

सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले बताए ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।

“विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो,” जलवायु विज्ञ सिग्देलले रासससँग भने, “हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ । त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।”

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए ।

त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए ।

घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उनले बताए । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्तमात्रामा सचेतना पु–याउनुपर्नेमा उनले जोड दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा