बिर्तामाेड । झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले पुस १६ गतेदेखि ८ गतेसम्म तीन दिन विद्यार्थीहरूलाई जाडो बिदा दिएका हुन् । जाडो बिदा हिउँदेरबर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयका अन्य कार्यक्रमबाहेक नियमित पठन-पाठन बन्द गरिएको ती पालिकाहरूले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्लाका अन्य पालिकाहरूले भने मौसम हेरेर जाडोको बिदा दिने विषयमा भोलि निर्णय गर्ने जनाएको छ । लगातार शीतलहरका कारण जिल्लाका सडक तथा बजारहरूमा पनि मानिसहरूको चहलपहल घटेको छ । जल तथा मौसम विज्ञान विभागले चिसो बढेका कारण पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।
