काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अतिवादी र हीनताबोध त्याग्नु नै एमाले पार्टी भित्रको एकताको मुख्य बिन्दु भएको बताएका छन् ।
नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले पार्टी भित्र अतिवादी र हीनताबोध देखिएकाले यी दुवै त्याग्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
‘पार्टी भनेको सबै मेरो मात्रै हो, भन्ने अतिवादी धारणा कुनै अमुक व्यक्ति वा समूहको छ, अनि पार्टी भित्र मेरो कुनै स्थान छैन भन्ने एउटा हीनताबोध पनि छ यी दुवै गलत कुराहरू हुन्,’ उनले भने, ‘ अतिवादी पनि गलत छ र हीनताबोध पनि सही छैन । अति बादले विध्वंस तिर लान्छ । हीनताबोधले पलायनयता तर्फ लान्छ । हीनताबोध लिन आवश्यक छैन र अति बाध पनि त्याग्नुपर्छ । यो नै पार्टी भित्र एकताको मुख्य बिन्दु हो ।’
उनले सम्पन्न महाधिवेशन भित्रका धेरै पाटोहरूमा पार्टी भित्र बहस र छलफल आवश्यक रहे पनि अहिले त्यसका लागि समय अपुग रहेको उल्लेख गरे । ‘महाधिवेशनमा आ–आफ्ना मान्यता अघि सारेको हो । धेरै विषयमा हामी एक ठाउँमा थियौं । केही विषयमा हामी एक ठाउँ थिएनौं । यो विषयमा बहस भयो, छलफल भयो पार्टीको आन्तरिक विधिबाट त्यसलाई पनि हल गरेका छौं,’ उनले थपे, ‘त्यो निर्णयमा कति सहमत भयौं होला । कतिमा भएनौं होला । तर, जब पार्टी प्रक्रियाबाट एउटा निर्णयमा पुग्छ त्यो निर्णयलाई सबैले सम्मान गर्नुपर्छ । अहिलेको अवस्था त्यहीँ हो ।’
उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्त अहिले पनि उत्तिकै महत्वपूवपूर्ण रहेको बताउँदै भने, ‘मदनले अघि सार्नुभएको सिद्धान्तले हामीलाई दिशानिर्देश गरेको छ । पार्टी, समाज र व्यक्तिगत जीवनलाई पनि दिशानिर्देश गरेको छ । त्यसप्रति सबैको उक्तिकै प्रतिबद्धता पनि रहनुपर्छ ।’
भदौमा भएको आन्दोलनले राजनीतिमा महाभूकम्प ल्याएको बताउँदै उनले यो अवस्थाबाट एमालेले छिटो आफूलाई समालेको दाबी गरे । ‘१४औं महाधिवेशनले देशलाई एउटा सन्देश दिएको छ । आन्दोलनले खोजेको एउटा बाटोमा एमाले हिँडेको छ । अझै समालिएर अघि बढ्नु छ,’ भट्टराईले भने ।
पृथ्वी नारायण शाहले गरेको नेपालको एकीकरण पछि नेपाल दोस्रो चरणमा कठिन अवस्थामा अहिले रहेको बताउँदै उनले त्यो कठिन र यो कठिनको युग फरक भए पनि अवस्था एउटै रहेको धारणा राखे । ‘अहिले आधुनिक युगमा संकटको प्रकृति फरक छ । गुमेको युगलाई जोड्ने, संविधानलाई ट्याकमा ल्याउने अहिलेको आवश्यकता हो,’ उनले थपे, ‘भूगोलको एकता सँगै राष्ट्रको स्वभिमान उठाउने भार अब नेपाल र नेपालीको काँधमा छ ।’
