भवानी बराल

आइतबार, माघ १८, २०८२

स्थान : वनस्थली, घण्टी घर ।

मूलधारे १२ भाइ पत्रकारसँग ज्यानी दुष्मनी कमाएका सहकारी छामिखानेलाई तीनले बाल मतलब नराख्ने कुरा त सर्वविदितै छ । यसर्थ छामिखानेको भोपु बजाउने पनि ’हवस् माजिक’ सञ्जाल नै हो । जेलबाट छुटेर यतिका दिनसम्म उथलपुथल गरिसकेका छामिखानेको अन्तरङ्ग बाहिर ल्याउन हवस माजिक सञ्जाल जरुरी हुनु स्वाभाविकै थियो । यस्तै कुराको पो यो थाहा पाएर ’युट्युबसिं फत्ते डटकम’ ले छामिखानेको डेन्जर माने खत्रा ’हन्टर वार्ता’ लिने सोच बनाएकै थियो ।

उता वनस्थली घण्टी घरबाट हण्टरवार्ताको लागि घण्टी आयो । यता ’युट्युबसिं फत्ते डटकम’ले पनि तुरुन्तका तु दौडिदत्त गर्ने मनसुबा बनाइ हाल्यो । प्रस्तुत हण्टरवार्ता  ’युट्युबसिं फत्ते डटकम’का प्रधान डन युट्युबसिं फत्ते र छामिखानेबिच भएको हो । विषय वा प्रसङ्गले अर्को अर्थ लागेमा लागिरहोस् । हण्टरवार्ताको जीवन्त बोल बचन तपसिलमा छ :

युट्युबसिं फत्ते : नमस्ते ; सहकारी छामिखाने जी ।
छामिखाने : मेरो नाम किन बिगारेको ? देखाउनु नपरोस् !

युट्युबसिं : आधा दर्जन सहकारी छाम्दै खाएकोले होला जनता जनार्दनले सहकारी छामिखाने भन्छन् । अनि मैले पनि जनताकै भाका बोलेको । देखाउन चैँ के बाँकी छ र फेरी के देखाउने भनेको ?
छामिखाने : देखाउँछु ! देखाउँछु ! हेर्दै जानु के के देखाउँछु ? ’बा’, दाजु, भाउजू, सबैलाई नदेखाई भकै छैन । अहिलेको त कास्टिङ मात्रै हो । पुरै फिलिम देखाएर चिलिम बनाउँछु । ठुलो खाल्डो खनेका छन् रे सबैलाई त्यसैमा पुरेर देखाइ दिन्छु ।

युट्युबसिं : जोती मगरले चिल्ला सेता, केराका थाम जत्रा साँप्रा देखाउँदा पो जेन्जी, जेन वाइ, जेन एक्स, बेबी बुमर्स, र ’बा’ लगायतका साइलेण्ट जेनेरेसन लट्ठै परेका थिए । तिम्रो भुत्ले साँप्रा कस्ले हेर्छ ? छि……छि……छि । नाम्सु । देखाउनु पर्दैन । अर्को कुरा तिम्ले भनेका मान्छे सबै डढाउनु पर्ने मृत्यु संस्कारका हुन् । गाड्ने चलन छैन । गाड्ने चलन भएकाहरु त जनजाति मात्र हुन् ।
छामिखाने : मेरो साँप्रा हेर्न इच्छुकहर्ले हाम्रो परम्परागत सांस्कृतिक परम्परा अनुसार हेरिसकेका छन् । मैले त देशकै राजखानी देखाउँछु भनेको हो । डढाउनु पर्ने हो भने पनि तैयार छु । चितवनमा मुढा सकिएको छैन ।

युट्युबसिं : खसी, बोका, साँढे, राँगा, सुँगुर, भेडा, बनेलको राजखानी त देखेको हो । देशकै राजखानी चैँ कस्तो हुन्छ ?
छामिखाने : हाम्रो निर्देशक सिद्धान्त नै राजखानी देखाउने हो । राजखानी घण्टी विचारधारा अन्तरगतको कुरा हो । यो विचारधाराले भन्छ : जो कोही थान्कोमा बसुन । दुइ तिहाइको फुँइ तिहाइ नदेखाउन । सबैको पाखुराको बोसो, नसो र घाँटीको धर्नासो देख्याछु । १२ भाइको चोचोमोचो तीनका तिघ्रा र छेपारी सब हिसाब किताब गरेको छु । अस्ति असत्तीहर्को प्रतिषोधले नक्खु भित्र हुलेका थिए । तेसैले सिक्तेल बाबैले हेलिकोप्टरमा ’बा’. दाइ, भाउजुहर्लाइ भगाए । अब म बाहिर आइसकेको छु । हेलिकोप्टरमा झुण्डेर भाग्न खोज्यौ भने झुण्डिने डोरी पनि काटेर झार्दिन्छु । राजखानी देखाउने भनेको यहि रणनीति हो ।

युट्युबसिं : यसरी कन्दनी चुँडिने गरी खोकेपछि फेरी भित्रै जाकि देलान नी ?
छामिखाने : जेल भित्र बाहिर त गर्दै गरुँला । कहिले सिंहदरबार कहिले कारागार । पहिले भरतपुर तेसपछि हस्तिनापुर।

युट्युबसिं : तीन कलोड धरौटी बुझाएर बाहिर निस्केको हैन ? तेहीपनि हर्केले कहाँबाट ल्यायो तेत्रो पैसा छामिखानेले भनेर सोधीखोजी गर्दै थियो । जन्ता जान्न चाहान्छन है । लु भनुँ त ।
छामिखाने : त्यो ढुङ्गागिट्टी कुट्ने हर्केलाइ के थाहा ? तेस्लाइ त चाराना, आठाना मात्र थाहा हुन्छ । मैले त अम्रिकामा डलरमा खेलेको छु । डलरमा खाको छु । डलर ओछ्याएर सुतेको छु । डलर मै नेपाल अम्रिका उडेको छु । सहकारीमा डलर कसरी जम्मा हुन्छ ? कसरी निकाल्नु पर्छ, त्यो पाखेलाइ के थाहा ? म जस्तो काँठे हुनुपर्छ थाहा पाउन ।

युट्युबसिं : अब के ’अर्ने’ विचार छ ? बालेनलाई बाल नदनिे भन्दै थियौ तर प्रधान मन्त्री नै बनाउने भएछौ । के अर्न खोजेको हउ ? (पश्चिम नेपाल तीर ’गर्ने’ शब्दलाइ ’अर्ने’ शब्द प्रयोग गर्ने भएकाले फत्तेले पनि उतैको भाका टिपेर सोधे)
छामिखाने : बालेनलाई लुसिफर भन्छन् मैले भष्मासुरसंग भिड्न मुसाफिर बनाएको हुँ । अब लडेको लड्यै ’अर्ने’ (गर्ने) हो । कैले सिंहदरबार कैले नक्खु कारागार । भरतपुर अनि हस्तिनापुर । रवि दाई हुँ, रवि दाई । रवि दाई, जेन्जी भाइ : हाई हाई !!!

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा