बिराटनगर। दसैँको टीकाको दिन थियो। सहरका सडकहरू सुनसान जस्तै थिए, तर चोक-चोकमा मानिसहरूको चहलपहल र उल्लास प्रस्टै देखिन्थ्यो।
सबैका निधारमा रातो अक्षता र कानमा जमरा सजिएका थिए। नयाँ लुगामा सजिएका केटाकेटीहरू खुसीले उफ्रिरहेका थिए।
तर, सहरको एउटा व्यस्त चोकमा हवल्दार रामबहादुर भने पसिनाले निथ्रुक्क भिजेर उभिइरहेका थिए।
उनको काँधमा देशको शान्ति सुरक्षाको गह्रौँ भारी थियो। धुलो र धुवाँका बीच बाटो खुलाउनु र नागरिकलाई सुरक्षा दिनु नै उनको ‘दसैँ’ थियो।
पकेटमा रहेको मोबाइल थर्कियो। उनले इसाराले अनुमति लिएर फोन उठाए। उताबाट सानो छोराको आवाज सुनियो,”बाबा, कहिले आउनुहुन्छ घर? सबैका बाबा आउनुभयो, मेरो टीका लगाइदिने कोही भएन।”
रामबहादुरको गला अवरुद्ध भयो। छेवैमा बसेकी बूढी आमाले लामो सुस्केरा हालेको आवाज पनि उनले प्रस्ट सुने।
आमाको त्यो श्वासमा छोराप्रतिको न्यास्रो र एक्लोपनको गहिरो पीडा लुकेको थियो। उनले छोरालाई यति मात्र भन्न सके “बाबु, छिट्टै आउँछु है,” तर उनलाई थाहा थियो, सरकारी बिदा स्वीकृत भएको छैन र ड्युटीको कुनै टुङ्गो छैन।
दिउँसोतिर अचानक सडकमा तनाव बढ्यो। एउटा समूह नाराबाजी गर्दै सडकमा उत्रियो। माथिबाट आदेश आयो “स्थितिलाई नियन्त्रणमा लिनू।” एकातिर माथिको कडा आदेश, अर्कोतिर आक्रोशित जनता; रामबहादुर र उनका साथीहरू बीचमा पेलिए। एकाएक भीडबाट ढुङ्गा र मुढा बर्सिन थाले। रामबहादुरले आफ्नो ‘ढाल’ अगाडि सारे।
एउटा ढुङ्गा उनको खुट्टामा लाग्यो, असह्य पीडा भयो। तर, उनी रुन पाएनन्। बर्दीले उनलाई रुने अनुमति दिएको थिएन। उनले ओठमा कृत्रिम मुस्कान सजाए र संयमताका साथ आफ्नो जिम्मेवारी निभाइरहे।
केही बेरमा भीड तितरबितर भयो। एकजना बटुवाले नजिकैबाट जाँदै गर्दा फन्को मारेर भने “यी प्रहरीहरू त साह्रै निर्दयी हुन्छन्, हाम्रै करबाट पालिएका छन् तर हामीलाई नै दुःख दिन्छन्।”
त्यो सुनेर रामबहादुरको मन चसक्क भयो। उनले सोचे “हामीले रातभरि ननिदाई पहरा दिन्छौँ, घाम र पानी भन्दैनौँ, तर पाउने त केवल गाली र ढुङ्गा मात्र रहेछ। के हाम्रो खटाइ कसैले देख्दैन?”
भोकले पेट पोलिरहेको थियो, प्यासले घाँटी सुकेको थियो। उनले आफ्नो बर्दीको फुली र खाकी रङलाई हेरे। यो केवल जागिर मात्र थिएन, यो त आफ्ना सबै इच्छा र चाहनाहरूको तिलाञ्जली थियो।
अपराधी समात्न जाँदा ज्यानको जोखिम, नसमात्दा जागिरको डर उनी सधैँ एउटा मानसिक चेपुवामा बाँचिरहेका थिए।
साँझ पर्यो। सहरका झिलिमिली बत्तीहरू बले। रामबहादुर अझै पनि त्यही चोकमा उभिएका थिए। शरीर थाकेको थियो। थकानले आँखाका ढकनीहरू भारी भएका थिए।
एकैछिन भित्तामा अडेस लागेर आँखा चिम्म गरी उनले परिवारलाई सम्झिएका मात्र के थिए, कसैले ‘खिचिक्क’ फोटो खिच्यो।
केही समयमै सामाजिक सञ्जालमा त्यो फोटो भाइरल भयो, जसको क्याप्सनमा लेखिएको थियो “ड्युटीको समयमा सुतिरहेको गैरजिम्मेवार प्रहरी!”
भोलिपल्टै माथिबाट अर्को आदेश आयो “ड्युटीमा लापरबाही गर्नेलाई कारबाही गरियोस्।”
त्यति मात्र कहाँ हो र? तिर्खाले व्याकुल भएका उनी ड्युटीकै क्रममा एक बोतल मिनिरल वाटर किन्न पसलतिर लाग्दा कसैले ‘घुस लिएको’ झुटो आरोप लगाइदियो।
ती आरोपहरूले उनको स्वाभिमान र जीवनमा यस्तो चोट पुर्यायो, जसले उनको शिर झुकाइदियो। निर्दोष हुँदाहुँदै पनि स्पष्टीकरण दिँदादिँदै उनी गले।
अन्ततः अनुसन्धानपछि उनी निर्दोष त साबित भए, तर बर्दीमा लागेको त्यो अपमानको दाग मेट्न कठिन थियो। तैपनि, उनले हार मानेनन्। मनभित्रको पीडालाई थाती राख्दै उनले सोचे “यो बर्दी देशको लागि हो, मेरो परिवारको भविष्यको लागि हो।”
लामो सुस्केरा हाल्दै उनले फेरि आफ्नो टोपी मिलाए। समाजले बुझोस् वा नबुझोस्, उनी फेरि त्यही सडकको धुलोमा आफ्नो कर्तव्य पूरा गर्न उभिए।
किनकि यो समाजलाई शान्तिको उज्यालो दिन एउटा बर्दीधारी मान्छे आफैँ जलिरहनु पर्ने रहेछ।
