काठमाडौं । हिजोआज जिन्दगी यति भागदौडपूर्ण बनेको छ कि जिन्दगीमा तनाव निकै बढेको छ । व्यावसायिक र व्यक्तिगत अप्ठ्याराहरू मानिसका लागि समस्या बन्दै गइरहेका छन् । मानिसहरू प्रायः तनावसँग जुध्ने तरिकाहरू खोजिरहेका हुन्छन् ।
धेरैजसो मानिस तनाव कम गर्न चियातिर लाग्छन भने अरू चुरोट वा रक्सीतिर लाग्छन् । तर तनाव कम गर्ने एउटा यस्तो तरिका छ जसको लागि तपाईंले एक सुको खर्च गर्नु पर्दैन । त्यो चिज हो संगीत । संगीत सुनेर तपाईं तनावबाट निःशुल्क राहत पाउन सक्नुहुन्छ । दैनिक संगीत सुन्ने बानीले तपाईंको मुड त सुधार गर्छ नै शरीर र दिमाग दुवैमा सकारात्मक प्रभाव पार्छ । दैनिक संगीत सुन्नाले धेरै अद्भूत फाइदाहरू मिल्छ ।
वेबएमडीले रिपोर्टअनुसार संगीत सुन्नाले तनाव र चिन्ता कम हुन्छ । जब तपाईं आफूलाई मनपर्ने संगीत सुन्नुहुन्छ, मस्तिष्कमा फिल गूड अर्थात् राम्रो महसुस गराउने हर्माेनहरू निस्कन्छन् । यसले तनाव कम गर्छ ।
संगीत सुन्दा शरीरमा कोर्टिसोलको स्तर घटाउन सक्छ, जसले दिमागलाई शान्त र आराम महसुस गराउँछ । यदि तपाईंलाई राती निदाउन समस्या भइरहन्छ भने सुत्नुअघि हल्का, मन्द संगीत सुन्नु फाइदाजनक हुन सक्छ । यसले दिमागलाई शान्त पार्छ र शरीरलाई आराम दिन्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ । दैनिक संगीत सुन्नाले तपाईंको निद्रामा उल्लेखनीय सुधार हुन सक्छ ।
संगीतले तपाईंको ध्यान र एकाग्रतामा सुधार ल्याउन सक्छ भन्ने कुरा सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । अध्ययन गर्दा वा काम गर्दा हल्का नरम, इन्स्टुमेन्टल संगीत सुन्नाले ध्यान भट्किदैन र काममा ध्यान केन्द्रित हुन्छ । त्यसैले धेरै मानिसहरू काम गर्दा पृष्ठभूमिमा संगीत बजाएर सुन्न रुचाउँछन् ।
तपाईं पनि आफ्नो मुड सुधार गर्न चाहनुहुन्छ भने, आफूलाई मनपर्ने संगीत सुन्न सुरु गर्नुहोस् । जब जब दुःखी वा थकित महसुस गर्नुहुन्छ, तपाईंको मनपर्ने गीतले तुरुन्तै तपाईंको मुड परिवर्तन गर्न सक्छ । संगीतले भावनाहरू व्यक्त गर्न र सकारात्मक सोच विकास गर्न मद्दत गर्दछ, नकारात्मक विचारहरूलाई तपाईंको दिमागमा प्रवेश गर्नबाट रोक्छ ।
संगीत सुन्नाले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । केही अनुसन्धानका अनुसार, सुस्त र आनन्द दिने खालको संगीतले रक्तचाप नियन्त्रण गर्न र मुटुको दर स्थिर कायम राख्न मद्दत गर्न सक्छ । यसले मुटुको तनाव कम गर्छ र समग्र मुटुको स्वास्थ्यमा सुधार गर्छ । संगीत थेरापी धेरै अन्य रोगहरूको लागि लाभदायक देखाइएको छ ।
हरेक दिन केही मिनेट मात्रै संगीत सुन्नु एउटा सरल तर अत्यधिक प्रभावकारी बानी भएको स्वास्थ्य विज्ञहरू सहमत छन् । यसले मानसिक रुपमा त आराम दिन्छ नै शारीरिक स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्द छ । त्यसैले, आफ्नो दैनिक दिनचर्यामा तपाईं पनि संगीत समावेश गर्नुहोस् ।
