काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
