Lite Nepal

बिहिबार, आषाढ २५, २०८३

काठमाडौं । अस्ट्रेलिया र भारतबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार अस्ट्रेलियाले भारतलाई आणविक ऊर्जा उत्पादनका निम्ति युरेनियम निर्यात गर्नेछ । साथै, दुवै देशले नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन् ।

भारतले सन् २०४७ सम्म १०० गिगावाट आणविक ऊर्जा उत्पादन क्षमता विकास गर्ने लक्ष्य लिएको छ । यही लक्ष्य पूरा गर्न भारत लामो समयदेखि अस्ट्रेलियाको विशाल युरेनियम भण्डारको उपयोग गर्न इच्छुक थियो । अर्कोतर्फ, अस्ट्रेलियाले पनि आफ्नो प्रमुख व्यापारिक साझेदार चीनमाथिको निर्भरता घटाउँदै भारतसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्न चाहेको थियो ।

मेलबर्नमा भएको सम्झौतापछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको सम्बन्धलाई असल साझेदारीभन्दा पनि गहिरो मित्रताका रूपमा चित्रण गरे ।

उनले भने, “यो सम्झौताले भारतमा गैरजीवाश्म इन्धनबाट विद्युत् उत्पादन बढाउन मद्दत गर्नेछ । साथै, अस्ट्रेलियाको स्रोतसाधन क्षेत्रका लागि नयाँ बजार खुल्नेछ ।”

अस्ट्रेलिया र भारतबीच सन् २०१४ मै नागरिक आणविक सहयोगसम्बन्धी सम्झौता भएको थियो । तर, हालसम्म युरेनियमको निर्यात सीमित मात्रामा हुँदै आएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो साझेदारीले दुवै देशका निम्ति ऐतिहासिक अवसर सिर्जना गरेको बताए ।

अस्ट्रेलियाको प्रविधि, पुँजी र प्राकृतिक स्रोतले भारतको स्वच्छ तथा नवीकरणीय ऊर्जातर्फको यात्रालाई तीव्र बनाउन सहयोग गर्ने उनले उल्लेख गरे । उनले कम कार्बन उत्सर्जन हुने आल्मुनियम उत्पादन परियोजनामा समेत सहकार्यको सम्भावना रहेको बताए ।

यसैबीच, अस्ट्रेलियाको सबैभन्दा ठूलो पेन्सन कोषले भारतको राष्ट्रिय लगानी तथा पूर्वाधार कोष (एनआईआईएफ)मा थप ५० करोड अस्ट्रेलियाली डलर लगानी गर्ने घोषणा गरेको छ ।

अस्ट्रेलिया पुग्नुअघि मोदी इन्डोनेसियाको भ्रमणमा थिए । त्यसक्रममा कृषि, रक्षा तथा अरू विभिन्न क्षेत्रसँग सम्बन्धित सम्झौता गरिएको थियो । तीमध्ये ब्रम्होस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित सहकार्य पनि समावेश थियो ।

अस्ट्रेलियाको भ्रमण सकाएपछि मोदी शुक्रबार न्युजिल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं