काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री शाहले यसअघि एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल निर्णय दिन आग्रह गरेका थिए। त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाहले पनि आगामी राजनीतिक अवस्थाबारे परामर्श गरिरहेका थिए।
एमालेबाट सरकारलाई निरन्तर समर्थन प्राप्त नहुने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका तर्फबाट सहभागी मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताइएको छ।
पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।
प्रदेश सरकारको पछिल्लो निर्णयसँगै सुदूरपश्चिममा सत्ता समीकरण थप परिवर्तन हुने देखिएको छ।