काठमाडौं । खाडी क्षेत्रका धेरै देशमा शनिबार बिहान सुरक्षा सतर्कता उच्च बनाइएको छ।
कुवेत, बहराइन र साउदी अरबका केही क्षेत्रमा सम्भावित शत्रुतापूर्ण ड्रोनको खतरा देखिएपछि साइरन बजाइएको तथा नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
कुवेतको सेनाले सामाजिक सञ्जाल एक्स (X) मार्फत जारी गरेको वक्तव्यमा शत्रुतापूर्ण ड्रोनको सम्भावित खतराविरुद्ध हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
सेनाले नागरिकलाई सुनिएका विस्फोटका आवाजहरू प्रतिरक्षा प्रणालीले आकाशमै लक्ष्यवस्तु निष्क्रिय पार्दा उत्पन्न भएको स्पष्ट पारेको छ।
यस्तै, बहराइनको गृह मन्त्रालय ले पनि देशभरका केही क्षेत्रमा आपतकालीन साइरन बजाइएको पुष्टि गर्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा बस्न अनुरोध गरेको छ।
उता साउदी अरब ले यान्बु (Yanbu) र अल–खार्ज (Al-Kharj) गभर्नरेटका लागि केही समय सुरक्षा चेतावनी जारी गरेको थियो। केही मिनेटपछि भने सम्बन्धित निकायले खतरा टरेको जनाउँदै चेतावनी फिर्ता लिएको छ।
हालसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको आधिकारिक पुष्टि भएको छैन।
ड्रोनहरू कसले प्रक्षेपण गरेको हो भन्ने विषयमा पनि सम्बन्धित देशहरूले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
यस घटनापछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ भने क्षेत्रीय तनाव फेरि चुलिन सक्ने चिन्ता बढेको छ।
अधिकारीहरूले नागरिकलाई सरकारी सूचनामात्र विश्वास गर्न र अफवाहबाट सतर्क रहन आग्रह गरेका छन्।