काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ ।
संघले यसअघि हिजो मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो ।
संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही नगरेको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय गरिएको तथा वार्तामा गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप लगाएको छ ।
संघले यसलाई अत्यन्त लज्जास्पद र दुःखद अवस्था भएको जनाएको छ ।
संघका अनुसार घोषित कार्यक्रमअनुसार आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिनेछ ।
त्यसैगरी, बिहान १० बजे काठमाडौं उपत्यकाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने संघले जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।