काठमाडौं । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानी लक्ष्यहरूमाथि जवाफी हवाई आक्रमण सुरु गरेको जनाएको हो ।
अमेरिकी सेनाका अनुसार, जोर्डनस्थित आफ्ना सैन्य अखडा र हर्मुज जलसन्धिमा रहेका जहाजहरूमाथि भएका आक्रमणको जवाफमा यो कदम चालिएको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमण भएमा अमेरिकाले पूर्ण बलका साथ जवाफ दिने चेतावनी दिएका छन् ।
फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी उनीहरूलाई कडा जवाफ दिनेछौँ । हामी उनीहरूमाथि कडा प्रहार गर्नेछौँ । उनीहरूले ठूलो मार खेप्नुपर्नेछ ।’
यस्तै, ट्रम्पले आक्रमण गर्ने पालो अमेरिकाको रहेको टिप्पणी गरे ।
ह्वाइट हाउसबाट उनले भने, ‘अब हाम्रो पालो हो ।’ उनले इरानलाई उक्त आक्रमणबारे जानकारी रहेको दाबी गरे ।
यता, इरानमा भएका हवाई आक्रमणहरूसँगै अमेरिका र साउदी सेनाले मंगलबार अबेर राति इराकमा इरान समर्थित मिलिसिया समूहहरूविरुद्ध पनि संयुक्त हवाई आक्रमण गरेको छ ।
पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ)ले उक्त आक्रमणहरूमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले आक्रमणको पुष्टि गर्दै संयुक्त कारबाहीले पूर्वी इराकमा रहेका हतियार भण्डार र सैन्य उपकरण राखिएका स्थानहरूलाई लक्षित गरेको दाबी गरेको छ । सेन्टकमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले विगत तीन दिनमा अमेरिकी सेना र साउदी अरबका ऊर्जा संरचनाहरूलाई लक्षित गरी ३० भन्दा बढी ड्रोन आक्रमणहरू गरेकाले यो कदम चालिएको हो ।
यस संयुक्त सैन्य कारबाही अघि साउदी अरबले आफ्ना हवाई प्रतिरक्षा प्रणालीहरूले देशको पूर्वी प्रान्तमा रहेका तेलसम्बन्धी संरचनाहरूलाई लक्षित गरी पठाइएका धेरै ड्रोनहरूलाई खसालेको जनाएको थियो ।
साउदी अरबले यी ड्रोन आक्रमणहरूका लागि इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूलाई जिम्मेवार ठहराएको थियो ।