विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो ।
संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उनैलाई निरन्तरता दिने सहमति जुटेको स्रोत बताउँछ ।
अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे ।
त्यसैअनुसार मेन्याङ्बोसँग ओलीले कुरा गरेका थिए ।
तर पार्टी केन्द्रीय सचिव समेत रहेका कार्कीले राजनीतिक अस्थिरता निम्तनेगरी सरकार परिवर्तन गर्न नहुने तर्क गरेका थिए ।
कार्कीलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले साथ दिएका थिए ।