Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

सोमबार स्थानीय समयअनुसार बिहान करिब ७ बजे भूकम्प गएको हो । भूकपम्पमा परी अहिलेसम्म एक सयभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् । स्थानीय उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा जुटेका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार, भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा पर्ने पाल्मार क्षेत्रमा थियो । यसको धक्का छिमेकी मुलुकहरू इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो ।

भूकम्पले निम्त्याएको विनाशपछि विभिन्न देशका नेताहरूले कोलम्बियाका जनताप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस कठिन घडीमा कोलम्बियाले फ्रान्सको मित्रता र सहयोगमा भरोसा गर्नसक्ने बताएका छन् । उनले मृतकका परिवारका साथै घाइते र भूकम्पबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरे । साथै, म्याक्रोनले राहत तथा उद्धार कार्यमा खटिएकाहरूको प्रशंसा पनि गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि कोलम्बियाका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले पश्चिमी कोलम्बियामा गएको भूकम्पको खबर अत्यन्तै दुःखद रहेको र यसले छिमेकी मुलुक इक्वेडरलाई समेत प्रभावित पारेको बताए । मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले विश्वका सक्षम राष्ट्रहरूलाई प्रभावित मानिस तथा देशहरूलाई सहयोग गर्न अघि आउन आह्वान गरे ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि कोलम्बियामा गएको शक्तिशाली भूकम्पसम्बन्धी विवरणहरूको आफूले निगरानी गरिरहेको र इटाली प्रभावित परिवार तथा उद्धार कार्यमा खटिएकाहरूसँगै रहेको बताइन् ।

छिमेकी मुलुक इक्वेडरले भूकम्पबाट प्रभावित कोलम्बियालाई तत्काल सहयोगको प्रस्ताव गरेको छ । इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ अजिनले आफ्नो मुलुक कोलम्बियाको साथमा रहेको बताएका छन् । उनले कोलम्बियालाई सहयोग गर्न ४७ जना उद्धारकर्मी, तालिमप्राप्त कुकुर र आवश्यक उपकरणहरूसहितको टोली उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

इक्वेडरले कोलम्बियाको आवश्यकताअनुसार यो टोली परिचालन गर्न आफू तयार रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं