चीन । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई निर्धारित समयमा प्रक्षेपण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
चीनको म्यान्ड स्पेस एजेन्सी ९सीएमएसए० का अनुसार, मिसनका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ। बुधबार चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो गरी स्थानान्तरण गरिएको हो।
चन्द्रयान र रकेटलाई क्रमशः गत अप्रिल र जुलाईमा प्रक्षेपण स्थलमा पुर्याइएको थियो। त्यसपछि तिनको जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको सीएमएसएले जनाएको छ। प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयार अवस्थामा रहेको बताइएको छ। अब प्रक्षेपणपूर्व प्राविधिक जाँच, संयुक्त परीक्षण तथा इन्धन भर्ने लगायतका काम निर्धारित तालिकाअनुसार अघि बढाइनेछ।
चाङ’ई–७ मिसनको मुख्य उद्देश्य चन्द्रमाको सतहमा उच्च सटिकताका साथ सफ्ट ल्यान्डिङ गर्नु तथा चन्द्रमामा हिँड्ने र उफ्रनेजस्ता अत्याधुनिक प्रविधिको परीक्षण गर्नु हो। मिसनले चन्द्रमाका स्थायी रूपमा छायामा रहने क्रेटरहरूको समेत विस्तृत अन्वेषण गर्नेछ।
विशेषगरी चन्द्रमाको दक्षिणी ध्रुवमा केन्द्रित यस अभियानले कक्षमा परिक्रमा, अवतरण, सतहमा गुड्ने र उफ्रनेजस्ता बहुआयामिक विधिमार्फत चन्द्रमाको वातावरण र प्राकृतिक स्रोतको सर्वेक्षण गर्नेछ। यस वैज्ञानिक अभियानमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीसमेत रहने सीएमएसएले जनाएको छ।