विराटनगर । संगीत तथा नाट्य एकेडेमीकी उपकुलपति तथा गायिका झुमा लिम्बुको केही महिनाअघि एक युट्युब पोडकास्टमा दिएको अभिव्यक्तिको पुरानो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
४२ सेकेन्डको उक्त क्लिपलाई लिएर लिम्बुको चर्को आलोचना भइरहेको छ । भिडियोमा उनले भनेकी छन्, ‘यो देश क्षेत्री–बाहुनले बनाएको होइन । पूर्वमा लिम्बु, राई, सुनुवार, तामाङ, नेवार, गुरुङ, मगर तथा हिमाली भेगमा लामा, शेर्पा समुदाय छन् । तराईमा पनि विभिन्न जातजातिको बसोबास छ । क्षेत्री–बाहुनको थातथलो चाहिँ नेपालमा कहाँ रहेछ रु उनीहरू नेपालभरि छरिएका छन् । त्यो त एकीकरणको बेला नेपालभरि जासुसका रूपमा छरिएको हो । कोही पनि क्षेत्री–बाहुन आएर हामीलाई हाम्रो अधिकार दिलाइदिनुपर्दैन ।’
डेढ घण्टाको उक्त पोडकास्टबाट ४२ सेकेन्डको अंश मात्रै काटेर सामाजिक सञ्जालमा फैलाइएको भन्दै लिम्बुले आफूविरुद्ध भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएकी छन् । उनले पूरा पोडकास्ट नहेरी छोटो क्लिपकै आधारमा धारणा बनाउनेहरूसँग तर्क गर्नु व्यर्थ रहेको बताइन् ।

उक्त अभिव्यक्तिलाई लिएर कतिपयले लिम्बुको विज्ञता र योग्यतामाथि समेत प्रश्न उठाएका छन् । साथै, उनको भनाइले जातीय द्वेष तथा घृणा फैलाएको आरोप पनि लगाइएको छ ।
तर, जातीय द्वेष र घृणा फैलाएको आरोपबारे लिम्बुको आफ्नै धारणा भने फरक छ । उनले भनिन्, ‘सहअस्तित्वको भावना आदिवासी जनजातिहरूसँग जति अरू कसैसँग पनि छैन । अन्य समुदायले सहअस्तित्वको कुरा यही समुदायबाट सिके हुने हो ।’
लिम्बुले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ बुझ्न पूरा पोडकास्ट हेर्नुपर्ने बताउँदै सामाजिक सञ्जालमा फैलाइएको छोटो क्लिपका आधारमा मात्रै निष्कर्षमा नपुग्न आग्रह गरेकी छन् ।