काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनाव तथा सीमा क्षेत्रमा देखिएको अस्थिरताका कारण अफगानिस्तानका व्यापारी र श्रमिकहरूको जीविकोपार्जनमा गम्भीर असर परेको छ। अफगानिस्तान र इरानबीचको प्रमुख व्यापारिक नाका हेरातस्थित ‘इस्लाम कला’मा यसको प्रत्यक्ष प्रभाव देखिएको छ।
हेरात सहरबाट करिब १२० किलोमिटर दूरीमा रहेको इस्लाम कला नाका अफगानिस्तानको पश्चिमी क्षेत्रको व्यापार तथा पारवहनको मेरुदण्ड मानिन्छ। यस नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत गर्नुका साथै ठूलो परिमाणमा व्यापारिक मालसामान आयात–निर्यात हुने गर्छ। तर पछिल्लो समय अमेरिका–इरान तनावका कारण यहाँको आर्थिक गतिविधि सुस्त भएको छ।
इस्लाम कला नाकामा विगत १५ वर्षदेखि मुद्रा सटहीको काम गर्दै आएका व्यवसायी नजीर अहमदका अनुसार द्वन्द्वका कारण व्यापारिक वस्तुको आपूर्ति घटेको छ भने मानिसहरूको आवतजावतसमेत पातलिएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै उनले तनावका कारण सर्वसाधारणको दैनिक जीवनमा ठूलो आर्थिक बोझ थपिएको बताए। विशेषगरी इरानबाट आयात हुने खाद्यान्नको मूल्य तीव्र रूपमा बढेको उनको भनाइ छ।

‘ग्यास, इन्धन, चामल र खाने तेलजस्ता अत्यावश्यक वस्तुको मूल्य अकासिएको छ,’ अहमदले भने। उनका अनुसार यसअघि १ हजार २ सय अफगानी ९करिब १८।४ अमेरिकी डलर० पर्ने १६ लिटर खाने तेलको मूल्य अहिले बढेर १ हजार ६ सय अफगानी पुगेको छ।
द्वन्द्वका कारण अफगानिस्तानका छिमेकी मुलुकहरूले समेत आर्थिक तथा सामाजिक असर भोग्नुपरेको उनको भनाइ छ।
इस्लाम कला नाकामा यात्रुको भारी बोक्ने काम गर्ने श्रमिक मौजनकाका अनुसार अफगानिस्तान–पाकिस्तान सीमाका नाकाहरू बन्द भएपछि इस्लाम कलामा व्यापारिक चाप बढेको छ। तर इरान–अमेरिका तनावका कारण श्रमिकहरूको आम्दानी भने घटेको उनले बताए। उनले देशभित्र कलकारखाना स्थापना गरी रोजगारीका अवसर विस्तार गर्न सरकारसँग माग गरेका छन्।
यसैबीच, स्पिन बोल्डक सीमा नाकाका व्यापारी फजल मोहम्मद वतन दोस्तले विगत १० महिनादेखि आफ्नो व्यवसाय पूर्ण रूपमा ठप्प रहेको बताएका छन्। नाका निरन्तर बन्द रहँदा व्यापारी, पसल सञ्चालक तथा मजदुरहरू बेरोजगार बनेको उनको भनाइ छ। उनका अनुसार गत वर्ष उनले ६० जनालाई रोजगारी दिएका थिए, तर अहिले ती सबै बेरोजगार छन्। उनले सीमा नाका तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित पक्षसँग अपिल गरेका छन्।
भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको अफगानिस्तानका लागि छिमेकी मुलुकसँगको व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय तनावले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। सीमा नाका बन्द हुनु, आपूर्ति शृंखला प्रभावित हुनु र अत्यावश्यक वस्तुको मूल्य बढ्नुले व्यापारीसँगै सर्वसाधारण र दैनिक ज्यालादारी श्रमिकसमेत थप आर्थिक संकटमा परेका छन्।