Lite Nepal

शनिबार, भाद्र १३, २०८३
फाइल तस्बिर

नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।

नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उनले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताए।

“राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्‍याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ”, उनले भने, “शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।” अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुईरतीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए ।

त्यसैगरी, सोही छलफलमा सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशीमा हालै आएको बाढी कल्पनाभन्दा बढी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएको उल्लेख गरे। उनले भने, “आजसम्म जुन स्तरमा काम भइरहेको छ, राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएकाले मात्र यति सम्भव भएको हो ।”

उनले तीनै तहको सरकारले स्वत:स्फूर्त रूपमा काम गरिरहेको बताए । हिजोसम्म उद्धारलाई प्राथमिकता दिएकामा आजदेखि शव संकलनमा जोड दिएको उनले जानकारी दिए । उनले हाल सरकारसँग सात वटा बेलिब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँकहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताए । शव व्यवस्थापनका लागि अब धेरै समय नभएकाले कुनै ढिलाइ नगर्ने प्रतिबद्धता जनाए । “यो चोट सम्पूर्ण सरकारलाई लागेको चोट हो”, उनले भने, “यसका लागि सरकारले सकेको सबै थोक गर्छ ।”

सोही छलफलमा राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद अधिकारीले आफ्ना सुझाव राख्दै अब राहत सामग्री वितरणलाई प्राथमिकता दिन अनुरोध गरे ।

त्यसैगरी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङले राहत, पुन:स्थापना, उद्धारजस्ता काममा प्रदेश सरकारले उत्तिकै सक्रियता देखाएको बताए । उनले अझै केही स्थानमा खोजी गरेर उद्धारका पर्खाइमा रहेकालाई ल्याउनुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं