विराटनगर । आध्यात्मिक कथावस्तुमा आधारित चलचित्र ‘हनुमान अंश’ नेपालका हलहरूमा पनि प्रदर्शन हुने भएको छ । विराटनगरको सेन्टरमहल स्थित सेन्ट्रल मल्टिप्लेक्समा समेत चलचित्र प्रदर्शनमा आउने भएपछि नेपाली दर्शकले पनि यो चलचित्रलाई ठूलो पर्दामा हेर्न पाउने भएका छन् ।
स्वाम्भु मिडिया नेटवर्कको प्रस्तुतिमा बनेको ‘हनुमान अंश’ नीम करौली बाबा अर्थात् श्री नीब करौली बाबाको जीवन र आध्यात्मिक यात्रामा आधारित चलचित्र हो । पोस्टरमा चलचित्रलाई डिभाईन डिटुर पुस्तकमा आधारित भनिएको छ । चलचित्रको लेखन तथा निर्देशन विशाल चतुर्वेदीले गरेका छन् ।

यो चलचित्रमा प्रेम, भक्ति र हनुमानप्रतिको आस्थालाई कथाको प्रमुख आधार बनाएको छ । सार्वजनिक विवरणअनुसार चलचित्रमा सोबिनव सत्य, चन्दन आनन्द, पुर्णिमा तिवारी, अनिल रस्तोगी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको अवधि करिब २ घण्टा ३० मिनेट रहेको हलसम्बन्धी विवरणमा उल्लेख छ ।
भारतमा प्रदर्शनपछि चलचित्रले अपेक्षाभन्दा बलियो दर्शक प्रतिक्रिया पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दर्शकको ‘वर्ड अफ माउथ’ र सामाजिक सञ्जालमा भइरहेको चर्चाका कारण चौथो सातासम्म पनि चलचित्रप्रति आकर्षण कायम रहेको र केही मल्टिप्लेक्सले शो थपेको रिपोर्ट सार्वजनिक भएको छ ।
चलचित्रका निर्देशक विशाल चतुर्वेदीले ‘हनुमान अंश’ को सिक्वेलसमेत बन्ने पुष्टि गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । चलचित्रले भारतमा प्रारम्भिक रूपमा सामान्य सुरुवात गरे पनि पछि दर्शकको रुचि बढ्दै गएको र यसले ५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको रिपोर्टमा उल्लेख छ ।
अब यही आध्यात्मिक कथामा आधारित चलचित्र नेपालमा पनि दर्शकमाझ पुग्न लागेको हो । विशेषगरी धार्मिक तथा आध्यात्मिक विषयमा आधारित चलचित्र रुचाउने दर्शकका लागि ‘हनुमान अंश’ फरक स्वादको चलचित्र बन्न सक्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनका लागि चलचित्र ११ सेप्टेम्बर २०२६ अर्थात्, यही भाद्र २६ गते रिलिज हुने घोषणा गरिएको छ । उक्त मिति नीम करौली बाबाको महासमाधिसँग समेत जोडिएको बताइएको छ ।
विराटनगरका चलचित्रप्रेमी दर्शकले पनि सेन्ट्रल मलस्थित सेन्ट्रल मल्टिप्लेक्समा ‘हनुमान अंश’ हेर्न सक्नेछन् । प्रदर्शन समय र टिकटसम्बन्धी विवरण सेन्ट्रल मल्टिप्लेक्सको आधिकारिक बुकिङ प्रणालीबाट हेर्न सकिनेछ ।