Lite Nepal

शनिबार, भाद्र २७, २०८३

भोजपुर । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो ।

अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी रु १५० देखि रु २०० सम्ममा खुर्सानी बिक्री गर्दै आएका छन् ।

पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्याङका स्थानीय किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्याङ संकलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ । सडक सुविधाका कारण व्यापारी खुर्सानी खरिद गर्न सोझै किसानका खेतबारी र स्थानीय संकलन केन्द्रसम्म पुग्ने गरेका छन् ।

तिवारीले विगत पाँच वर्ष अघिदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी संकलन गरेर बाहिर पठाउँदै आएको बताए। “स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु” उनले भने, “तिवारीभञ्याङबाट मात्र दैनिक ४०० केजीसम्म खुर्सानी शहरी क्षेत्रमा गइरहेको छ ।”

उत्पादन भएको खुर्सानी बिक्री गर्न र बजारीकरणका लागि हाल कुनै समस्या नरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान कमला थापाले बताइन् । भोजपुरको पहाडी हावापानीमा उत्पादन भएको अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग उच्च रहेको उनको भनाइ छ ।

जिल्लामा यस वर्ष करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । यो वर्षको खुर्सानी अझै बिक्री भइरहेकाले कुल कति उत्पादन भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा भने जिल्लामा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा करिब रु २३ करोड भित्रिएको तथ्यांक रहेको प्रमुख यादवले जानकारी दिए। “अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” प्रमुख यादवले भने, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध रहेका छन् । यहाँको खुर्सानी बाह्य जिल्लामा ठूलो परिमाणमा निर्यात हुँदै आएको छ ।”

स्थानीय तहले पनि खुर्सानीको खेतीको लागि किसानलाई अनुदान सहयोग गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको खुर्सानीको शहरका बजारमा राम्रो माग रहेको किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं