विराटनगर । मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दारको मृत्यु भएको छ।
सोमबार साँझ वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले बूढीगंगा–४ मा पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ निवासी ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले साँझ ६ः५२ बजे खड्कालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अनुसार मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत थिए।
दुर्घटनामा संलग्न बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५, शिवचोकका ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।