Lite Nepal

आइतबार, आश्विन ११, २०८३

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिम पहिरोमा परी दुई पर्वतारोहण गाइडको मृत्यु भएको छ भने १४ जना अझै सम्पर्कविहीन रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ।

एसोसिएसनका अनुसार हिम पहिरोमा परेर कुल १६ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये १४ जना किचेन स्टाफ र दुई जना पर्वतारोहण गाइड थिए। पछिल्लो खोजीका क्रममा दुई गाइड मृत अवस्थामा फेला परेपछि अब १४ जना किचेन स्टाफको अवस्था अज्ञात रहेको एसोसिएसनले जनाएको छ।

बेपत्ता तथा मृतकहरू विभिन्न एक्सपिडिसन कम्पनीसँग सम्बन्धित रहेको जनाइएको छ। मृत अवस्थामा भेटिएका दुई गाइडको पहिचान भने सार्वजनिक गरिएको छैन।

हिमपहिरोपछि खोज तथा उद्धारका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले पर्वतारोहण तथा उच्च हिमाली उद्धारमा अनुभवी गाइडहरूको टोली परिचालन गरेको छ। टोली हेलिकप्टरमार्फत हिमपहिरो गएको क्षेत्रमा पुगेपछि खोजी कार्य अघि बढाइएको छ।

घटनास्थलमा मिङ्मा जी, पासाङ काजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पासहितको टोली खटिएको छ। थप चार उद्धारकर्मीलाई समेत घटनास्थलतर्फ पठाउने तयारी भइरहेको एसोसिएसनले जनाएको छ।

हिमलुङ हिमाल मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमाल हो। आइतबार बिहान हिमपहिरो गएपछि घटनास्थलमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको थियो।

यसअघि घटनामा कति जना सम्पर्कविहीन भए भन्नेबारे विभिन्न विवरण सार्वजनिक भएका थिए। प्रारम्भिक विवरणमा करिब एक दर्जन व्यक्ति बेपत्ता भएको बताइएको थियो भने पछिल्लो चरणमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले १६ जना प्रभावित भएको र तीमध्ये दुई जनाको शव फेला परेको जनाएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं