झापा । तेह्रथुमको छथरबाट ३६ वर्षअघि झापा झरेका बुद्धशान्ति गाउँपालिका–४ जुनेलीका ५५ वर्षीय डम्बरबहादुर लिम्बूको वर्षौंदेखिको सपना मंगलबार पूरा भएको छ। लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जमिनको जग्गाधनी दर्ता प्रमाण पुर्जा उनको हातमा परेको हो।
डम्बरबहादुरका बुबा राजबहादुर लिम्बूले जीवनभर आफ्नै नाममा लालपुर्जा देख्ने चाहना राखेका थिए। तर, पाँच वर्षअघि उनको निधन भयो। बुबाको अधुरो सपना बोकेर बसेका डम्बरबहादुरले मंगलबार पुर्जा पाएपछि बुबालाई सम्झिए।

“ढिलै भए पनि पुर्जा पाइयो। बुबाले त लालपुर्जा देख्न नपाई बित्नुभयो। उहाँले जीवनभर देख्न चाहेको लालपुर्जा आज मेरो हातमा परेको छ,” उनले भने। आफ्नै नाममा जमिन भएपछि अब सन्तानका लागि केही सुरक्षित भएको अनुभूति भएको उनले बताए।

डम्बरबहादुरसँगै जुनेलीका ५३ वर्षीया सरस्वती राई र ५० वर्षीया सविता थेवेलगायत २६ जना अव्यवस्थित बसोबासीले मंगलबार जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका छन्। वर्षौंदेखि घर बनाएर बस्दै आए पनि जग्गाको स्वामित्व आफ्नो नाममा नहुँदा उनीहरूले असुरक्षा र अनिश्चितता भोग्दै आएका थिए।
सरस्वतीले पुर्जा नहुँदा बैंकबाट ऋण लिनसमेत समस्या हुने गरेको बताइन्। सविताले पनि लामो समयसम्म ‘सुकुम्बासी’को परिचय बोकेर बस्नुपरेको भन्दै आफ्नै नाममा जमिन भएपछि ठूलो राहत महसुस भएको बताइन्।
वडा नं. ४ का वडाध्यक्ष शेरबहादुर रायका अनुसार स्थानीय तहको पहिलो निर्वाचनदेखि नै अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने विषय प्राथमिकतामा थियो। विभिन्न समयमा आयोग परिवर्तन हुँदा प्रक्रिया प्रभावित भए पनि अहिले क्रमशः पुर्जा वितरणको काम अघि बढेको उनले बताए।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले पनि पटक–पटक आयोग परिवर्तन हुँदा भूमि समस्या समाधानको काममा ढिलाइ भएको बताए। बाँकी वास्तविक लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरी पुर्जा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
गाउँपालिकाका भूमि शाखा प्रमुख देवेन्द्र कटुवालका अनुसार विसं २०७९ असारमा ४२, २०८२ असारमा १४८ र २०८३ असारमा पाँच भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गरिसकेका छन्। पालिकामा अझै १४८ भूमिहीन सुकुम्बासी, ३१ भूमिहीन दलित र ६ हजार २२३ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढिरहेको छ।
जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले वास्तविक हकदारले मात्र जग्गाको स्वामित्व पाउने गरी प्रक्रिया अघि बढाइएको बताए। सम्बन्धित वडाबाट सात दिने हकदाबी सूचना प्रकाशन गरी दाबी–विरोधको प्रक्रिया पूरा गरेपछि पालिका र जिल्ला समितिबाट आवश्यक प्रमाणीकरण तथा कानुनी प्रक्रिया पूरा गरेर पुर्जा वितरण गरिने उनले जानकारी दिए।
नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार झापाका अर्जुनधारा, कन्काई र मेचीनगरलगायत अन्य स्थानीय तहमा पनि लालपुर्जा वितरणको प्रक्रिया जारी छ।