विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीको १५औँ महाधिवेशनलाई लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न कांग्रेसका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
कार्कीले जारी गरेको अपिलमा महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई युवा पुस्तासहित सबैलाई लोकतान्त्रिक प्रक्रियामार्फत राष्ट्र निर्माणमा सहभागी गराउने अवसरका रूपमा उल्लेख गरिएको छ।

उनले लोकतन्त्रमा समावेशिता र सामूहिकता महत्वपूर्ण रहेको भन्दै कांग्रेसभित्र सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। साथै, बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै महाधिवेशनमार्फत अघि बढ्न आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद र सहभागिताबारे बहस चलिरहेका बेला कार्कीको यस्तो अपिल सार्वजनिक भएको हो। पछिल्लो समय उनले महाधिवेशन प्रक्रिया र पार्टीभित्रको सहमति–सहकार्यबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
