काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६३४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सिसीटिभीमार्फत पहिचान भएका ५३ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २८ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना रहेका छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लंघन गर्ने पाँच जना, सवारीसाधनको अवस्था ठीक नभएका १२ जना र एकतर्फी सडकको अनुशासन पालना नगर्ने पाँच जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

अन्य विभिन्न किसिमका ट्राफिक नियम उल्लंघन गर्ने ३७३ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।
सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीको सुरक्षासँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नियम उल्लंघन नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।