रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाखभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद भएको जानकारी दिए ।

सीमा जाँचकक्षमा शंकास्पद रूपमा प्रस्तुत भएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फुली, पत्थरवाला हार र ब्रासलेटलगायत गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पटेलबाट बरामद गरिएको गरगहनाको तौल दुई किलो ६०५ ग्राम रहेको छ । गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकामा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
बरामद अवस्थाका गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन भएको प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार, प्रचलित मूल्यका आधारमा उक्त सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० कायम भएको छ ।
बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएका छ ।
सोही सन्दर्भमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । -रासस