Lite Nepal

शनिबार, आश्विन १७, २०८३
फाइल तस्बिर

विराटनगर । सुनसरीमा ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको र त्यसमा प्रहरीकोसमेत मिलेमतो रहेको आरोप स्थानीयहरूले लगाएका छन् । प्रहरीले भने यस्तो आरोप निराधार रहेको दाबी गर्दै प्राप्त सूचनाका आधारमा नियमित रूपमा अनुसन्धान तथा कारबाही भइरहेको जनाएको छ ।

केही दिनअघि सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको झडपमा एक व्यक्ति घाइते भएपछि घटनाले थप चर्चा पाएको थियो । घटनापछि स्थानीयले गाँजा तस्करीसँग सम्बन्धित व्यक्तिहरूबीच विवाद भएको दाबी गरेका थिए । सुरुमा प्रहरीले घटनालाई सामान्य प्रकृतिको भने पनि घाइतेको उपचारका क्रममा नोबेल अस्पतालले गोली लागेको पुष्टि गरेको थियो ।

स्थानीयका अनुसार देवानगञ्ज तथा आसपासका क्षेत्रमा लामो समयदेखि खुलेआम गाँजा कटान तथा ओसारपसार हुने गरेको छ । यसबारे विभिन्न सञ्चारमाध्यममार्फत समेत गुनासो गरिँदै आए पनि प्रहरीले पर्याप्त चासो नदिएको उनीहरूको आरोप छ ।

यस्तै, स्थानीय स्रोतका अनुसार शुक्रबार हरिनगरा गाउँपालिका–७, विक्रमपुरस्थित एक घरमा करिब १ हजार ५ सय किलो गाँजा लुकाएर राखिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । उक्त सूचनाका आधारमा प्रहरीले अपरेसन सञ्चालन गरे पनि ठूलो परिमाणमा गाँजा बरामद गर्न नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रहरीले करिब ६० किलो गाँजा (अनुमानित) मात्रै बरामद गरेको थियो ।

स्थानीय स्रोतले (नाम गोप्य राख्ने सर्तमा) इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्जलाई रकम दिएर ‘लाइन मिलाउने’ गरिएको आरोपसमेत लगाएको छ । यस्तै, इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी जवान राकेश यादवले गाँजा ओसारपसारमा स्कर्टिङ गर्ने गरेको विशेष स्रोतको दाबी छ ।

स्थानीय स्रोतले हरिनगर गाउँपालिका–७, घुस्की क्षेत्रमा बस्ने इमरान जट मियाँ र सकिल जटलाई लागुऔषध कारोबारमा संलग्न मुख्य व्यक्तिका रूपमा दाबी गरेको छ ।

स्रोतका अनुसार पछिल्लो समय प्रहरीले गाँजा नियन्त्रणका लागि छापा मार्ने प्रयास गर्दा स्थानीयबाट प्रहरीमाथि ढुंगामुढा तथा हातपातको प्रयाससमेत भएको थियो । प्रहरीलाई सहयोग गरेको आरोपमा स्थानीय मुल्बि साबललाई गाँजा तस्करीमा संलग्न भनिएका व्यक्तिहरूले कुटपिट गरेको र त्यसपछि प्रहरीमाथिसमेत आक्रमणको प्रयास भएको स्रोतको भनाइ छ ।

प्रहरी भन्छ,’सूचना पाएपछि तत्काल अपरेसन हुन्छ’
यता, सुनसरी प्रहरीले भने गाँजा तस्करीमा प्रहरीको मिलेमतो रहेको आरोप अस्वीकार गरेको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले प्रहरीलाई प्राप्त सूचनाका आधारमा अपरेसन सञ्चालन हुने र बरामद भएको लागुऔषध कहाँबाट आयो, कससँग सम्बन्धित छ तथा कुन माध्यमबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार प्रहरीलाई प्राप्त हुने सबै सूचना सही हुँदैनन् । गाँजा जाँदैछ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले रातिसमेत टोली परिचालन गर्ने गरेको भए पनि कतिपय अवस्थामा त्यस्ता सूचना गलत पुष्टि हुने गरेको उनले बताए ।

खड्काले सुनसरीको भौगोलिक अवस्थाका कारण लागुऔषध नियन्त्रण प्रहरीका लागि चुनौतीपूर्ण रहेको बताए । भारतसँग जोडिएको करिब ६२ किलोमिटर सीमा क्षेत्र, ग्रामीण बाटो तथा गोरटोका कारण निगरानी र नियन्त्रणमा कठिनाइ हुने उनको भनाइ छ ।

प्रहरी प्रवक्ता खड्काले लागुऔषध तस्करीमा प्रहरीको मिलेमतो रहेको आरोप अस्वीकार गर्दै प्राप्त सूचनाका आधारमा स्थानीयसँग समन्वय गरी अनुसन्धान र कारबाही अघि बढाइने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं