काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट तथा टिकट वितरण गर्न निर्वाचन ब्युरो गठन गर्ने भएको छ। सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पैसाका आधारमा टिकट वितरण रोक्ने र क्रियाशील सदस्यबीच आन्तरिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने प्रस्ताव गरेका छन्। ७५३ स्थानीय तहमध्ये एक सयभन्दा बढीमा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने उनको प्रस्ताव छ।
निर्वाचित जनप्रतिनिधिलाई नीति, बजेट र सेवा प्रवाहमा सहयोग गर्न गभर्नेन्स इन्स्टिच्युट, नेतृत्व विकासका लागि नेतृत्व प्रतिष्ठान र नीतिगत विकल्प तयार गर्न नीति प्रतिष्ठान गठन गर्ने प्रस्ताव पनि गरिएको छ।

कांग्रेसले सदस्यता, बैठक, निर्णय, उम्मेदवार छनोट, वित्तीय व्यवस्थापन तथा नागरिक संवादलगायत पार्टीका गतिविधिलाई डिजिटल प्रणालीमा जोड्ने भएको छ। व्यक्तिगत सूचना सुरक्षासँगै डिजिटल पहुँच नभएकालाई वैकल्पिक व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ।
