काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ संकलन गरेको छ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा बाढी प्रभावित तथा पीडित परिवारका लागि उक्त रकम संकलन भएको उल्लेख छ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार रकम क्रियाशील सदस्य, शुभेच्छुक तथा नेपालभित्र र बाहिरबाट संकलन गरिएको हो। संकलित रकममध्ये कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरिसकेको छ।

बाँकी १ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ नेपाल बैंक तथा ईसेवामा रहेको प्रतिवेदनमा उल्लेख छ। ‘बाँकी रकमसमेत सम्बन्धित निर्णय तथा आवश्यकताअनुसार राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिने छ,’ प्रतिवेदनमा भनिएको छ।