सुनसरी । सुनसरी प्रहरीले लागूऔषध गाँजा बरामद गर्नुका साथै गाँजा ओसारपसारमा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी कासमगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–४, कप्तानगञ्ज क्षेत्रमा नियमित चेकजाँचका क्रममा उक्त मोटरसाइकल फेला पारेको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालकले प्रहरीको संकेत बेवास्ता गरी मोटरसाइकल छाडेर फरार भएका थिए।

मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा करिब ५१ प्याकेट गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थ र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
