काठमाडौं । ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन, फर्किने र आउनेको टुंगो हुँदैन’ बोलको चर्चित गीत दुई दशकदेखि नै श्रोतामाझ लोकप्रिय छ। गायिका अञ्जु पन्तको स्वरमा लोकप्रिय बनेको यस गीतका रचनाकार को हुन् भन्ने प्रश्न भने लामो समयसम्म ओझेलमा रह्यो। गीतका रचनाकार कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राई हुन्।
राईका अनुसार पार्टीको संगठन विस्तारका क्रममा ठेस लागेपछि उनले यो गीतका शब्द रचना गरेका थिए। गीत लोकप्रिय बन्दै गए पनि यसको सर्जक भने लामो समयसम्म पर्दापछाडि नै रहे। अहिले राईले उक्त गीतलाई नयाँ स्वर र संगीत संयोजनसहित पुनः सार्वजनिक गरेका छन्।

राजन राईकै शब्द रचनामा तयार भएको गीतमा राजनराज शिवाकोटीको संगीत, स्वरूपराज आचार्यको स्वर तथा साहस शाक्यको संगीत संयोजन रहेको छ। राईले आफ्नै युट्युब च्यानलमार्फत बुधबार गीत सार्वजनिक गरेका हुन्।

तीन दशकअघि नै लोकप्रिय बनेको गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएसँगै पुरानो पुस्ताका श्रोतामा सम्झना ताजा हुनुका साथै नयाँ पुस्तामाझ पनि गीत पुग्ने अपेक्षा गरिएको छ।