Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको ‘बम्पर उपहार’ नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् ।

दसैँका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट तीन हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका निम्ति छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए ।

विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराए ।

सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार, उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागु गरिएको हो । असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने दुई लाख ७५ हजार ८८४ र क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका तीन करोड ७४ लाख ७८ हजार ३८० गरी कुल तीन करोड ७७ लाख ५५ हजार २६४ रुपैयाँ कारोबार यस प्रक्रियामा सहभागी थिए ।

विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक/एक गरी कुल १६ जना दैनिक विजेतालाई जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टीपछि खुद एक लाख रुपैयाँ) समेत घोषणा गरेको छ ।

“विजेता बन्नुहुने सबैले आफूले सामान खरिद गर्दा प्राप्त गरेको बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा गई पुरस्कार दाबी गर्नुपर्नेछ,” भुसालले भने ।

तामाङलगायत सम्पूर्ण विजेताले दसैँ बिदा सकिएपछि कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं