Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् ।

धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र आफन्तजनसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् ।

दसैँको टीका–जमरा र खानपिन सकिएलगत्तै धान भित्र्याउने चटारो सुरु हुने किसान बताउँछन् ।

भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ मनाइसकेपछि किसान धान काट्ने र थन्क्याउने काममा जुट्नेछन् ।

कात्तिक महिनाको सुरुवातसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलपुर बनेपछि भोजपुरको ग्रामीण वातावरण रमणीय बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा किसानले गरेका छन् ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयालले पहेँलै बनेको धानले गाउँघर र डाँडापाखाको सौन्दर्य बढाएको बताए । चाडपर्व सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र भण्डारण गर्ने चटारो सुरु हुने उनको भनाइ छ ।

चाडपर्वपछि गाउँमा परम्परागत रूपमा चल्दै आएको ‘अर्मपर्म’ प्रथामार्फत धान भित्र्याउने काम गरिने फुयालले बताए । मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतमा परिवारका सदस्य र छिमेकी मिलेर धान काट्ने तथा भित्र्याउने चलन छ ।

वर्षभरिका लागि आवश्यक मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याउन पाए ढुक्क हुने किसान फुयाल बताउँछन् । दसैँको रमझमपछि भोजपुरका किसानलाई अब खेतमा पाकेको धान भित्र्याउने चटारोले छोप्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं